एन्फाको निलम्बन फुकुवाका लागि उच्चस्तरीय पहल भइरहेको छः मन्त्री पोखरेल


काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अखिल नेपाल फुटबल संघ ९एन्फामाथि० विश्व फुटबल महासंघ ९फिफा०ले गरेको निलम्बन फुकुवाका लागि सरकारले उच्चस्तरीय पहल गरिरहेको बताए ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री पोखरेलले राष्ट्रिय खेलकुद विकास ऐन तथा नियमावलीअनुसार विधान संशोधन गरी तहगत निर्वाचन गर्न राष्ट्रिय खेलकुद परिषद्ले एन्फालाई निर्देशन दिएको बताए।

परिषद्को निर्देशन पालना नगरी एन्फाले साधारणसभा तथा निर्वाचन प्रक्रिया अघि बढाएपछि पटक–पटक सचेत गराइएको र पछि एन्फालाई निलम्बन गरिएको उनको भनाइ छ। परिषद्को निर्देशनलाई तेस्रो पक्षको हस्तक्षेपका रूपमा लिइएपछि फिफाले एन्फालाई निलम्बन गरेको मन्त्री पोखरेलले जानकारी दिए।

निलम्बनपछि नेपालमा कुनै पनि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता सञ्चालन नभएको उनले बताए । निलम्बनको अवधि तोकिएको छैन भन्दै मन्त्री पोखरेलले सरकारको पहलबाट चाँडै फुकुवा हुने अपेक्षा रहेको उल्लेख गरे।

यसैगरी, विद्यालय शिक्षाका समस्या समाधानका लागि सरोकारवालाको सुझाव समेटेर शिक्षा ऐन जारी गर्ने प्रतिबद्धता जनाउँदै उनले शिक्षक अभाव र दरबन्दी मिलानको समस्या समाधानमा सरकार गम्भीर रहेको बताए ।