दोभान बजारमा भीषण आगलागी : ७ घर पूर्णरूपमा ध्वस्त


काठमाडाैँ । ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट भएर लागेको आगोबाट १० घरमा क्षति पुगेको छ। बिहीबार दिउँसो स्थानीय डण्डु शेर्पाको घरबाट सुरु भएको आगलागीका कारण ७ घर पूर्णरूपमा जलेर ध्वस्त भएका छन्।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालका अनुसार आगलागीबाट थप तीन घरमा समेत ठूलो क्षति पुगेको छ। आगो फैलिँदा बजारमा रहेका अन्य घर जोखिममा परेका थिए।

आगलागी नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दा परिचालन भएका छन्। दमकल र सुरक्षाकर्मी समयमै घटनास्थल पुगेपछि आगो थप फैलिन नदिन सकिएको प्रशासनले जनाएको छ।

प्रजिअ दाहालका अनुसार अहिले आगो नियन्त्रणउन्मुख अवस्थामा छ। उनका अनुसार तत्काल थप क्षति हुने सम्भावना कम हुँदै गएको छ।

दोभान बजारमा करिब ५० घर रहेका छन्। विद्युत् सर्टबाट आगलागी सुरु भएको प्रारम्भिक जानकारी आए पनि घटनाबाट भएको कुल क्षति र आगलागीको विस्तृत कारणबारे थप विवरण आउन बाँकी छ।