समुन्द्री सतहको बढ्दो जोखिमबाट विश्वलाई जोगाउन गुटेरेसको अपिलः उत्सर्जन कटौती नै अन्तिम विकल्प


संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले समुन्द्री सतहको बढ्दो स्तरलाई मानव सभ्यताका लागि गम्भीर संकटको संज्ञा दिँदै यसको मूल कारण न्युनिकरणका लागि तत्काल ठोस कदम चाल्न विश्वका शक्तिशाली राष्ट्रहरूलाई आह्वान गरेका छन् ।

उनले सन् २०३५ सम्ममा विश्वव्यापी कार्बन उत्सर्जन ६० प्रतिशतले घटाउनुपर्नेमा जोड दिएका हुन् । बिहीबार एक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले विश्वको तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसभन्दा माथि जान नदिन तत्काल उत्सर्जनको गति घटाउनुपर्ने आवश्यकता औँल्याए ।

उनले नवीकरणीय ऊर्जाको प्रयोगलाई तीन गुणा बढाउन र ऊर्जा दक्षतालाई दोब्बर बनाउन विकसित राष्ट्रहरूलाई आग्रह गरे । “जी–२० राष्ट्रहरूले नेतृत्व लिनुपर्छ र टर्कीमा हुने कोप–३१ जलवायु सम्मेलनले प्रभावकारी नतिजा दिनैपर्छ,” उनले भने ।

हाल करिव ७७ करोड मानिसहरू समुन्द्री तटको उच्च ज्वारभाटाको रेखाबाट ५ मिटरभन्दा कम उचाइमा बसोबास गरिरहेका छन् । यदि समयमै अनुकूलन र न्युनिकरणका उपायहरू अवलम्बन नगर्ने हो भने, सन् २१०० सम्ममा तटीय शहर र समुदायहरूले भोग्ने जोखिम दश गुणाले बढ्ने चेतावनी गुटेरेसले दिएका छन् ।

समुन्द्री सतहको वृद्धिले अर्थतन्त्र, व्यापार, पूर्वाधार र खाद्य प्रणालीमाथि नै प्रहार गरिरहेको छ । सन् २०२४ मा समुन्द्री सतहको वृद्धि झन्डै ६ मिलिमिटर पुगेको छ, जुन अहिलेसम्मकै उच्च वार्षिक वृद्धि हो ।

इन्टरगभनमेन्टल प्यानल अन क्लाइमेट चेन्ज (आईपीसीसी) काअनुसार सर्वोत्तम अवस्थामा पनि शताब्दीको अन्त्यसम्ममा समुद्री सतह आधा मिटर बढ्ने निश्चित जस्तै छ । उत्सर्जनमा कटौती नभए यो वृद्धि एक मिटरसम्म पुग्न सक्ने आकलन गरिएको छ ।

गुटेरेसले बढ्दो समुन्द्री सतहले कुनै राष्ट्रको भूमि डुबानमा परे पनि उनीहरूको राज्यको अस्तित्व र अधिकार समाप्त नहुने कानूनी पक्षमाथि पनि जोड दिए । 

उनले भने, “समुन्द्री सतहको वृद्धि मिलिमिटरमा मापिन्छ, तर यसको क्षति करोडौँ मानिसको जीवन, उनीहरूको संस्कृति र भविष्यसँग जोडिएको छ । विश्वले अब ढिला नगरी यो संकटको जवाफ दिनुपर्छ ।”