पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो विशाल पहिरो, यातायात सेवा पूर्ण रूपमा अवरुद्ध


काठमाडाैँ । पृथ्वी राजमार्ग अन्तर्गत पर्ने धादिङको बाङ्गेमा खसेको विशाल पहिरोका कारण राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । 

सडकको माथिल्लो भागबाट खसेको लेदोसहितको पहिरोले दुवैतर्फी यातायात सेवा ठप्प पारेपछि सयौँ यात्रुहरू बिचबाटोमै अलपत्र परेका छन् ।

राजमार्गको उक्त खण्ड विगतमा त्रिशूली नदीमा आएको बाढीका कारण अत्याधिक कटानमा परेको संवेदनशील क्षेत्र मानिन्छ ।

स्थानीय प्रशासनकाअनुसार लामो समयदेखिको वर्षाका कारण कमजोर बनेको जमिन र भिरालो भूगोलका कारण पहिरो खसेको हो । बाढीको उच्च जोखिम झेलिसकेको सोही स्थानमा पुनः पहिरो खसेपछि राजमार्गको पुनःस्थापना थप चुनौतीपूर्ण बनेको छ ।

सडक अवरुद्ध भएसँगै काठमाडौंलाई देशका अन्य भागसँग जोड्ने मुख्य लाइफलाइनका रूपमा रहेको यो मार्गमा सवारी साधनहरूको लामो लाइन लागेको छ ।

प्रहरीले यात्रामा निस्कनुअघि ट्राफिक प्रहरीसँग सडकको अवस्थाबारे जानकारी लिन वा वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । बाढी प्रभावित क्षेत्र भएकाले यस भेगमा थप पहिरो जान सक्ने भन्दै सावधानी अपनाउन प्रशासनले शतर्क गराएको छ ।