काठमाडाैँ । बागमती प्रदेशको उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि, रोजगारी सिर्जना, उद्यमशीलता र स्थानीय अर्थतन्त्र विकासको महत्वपूर्ण आधार भएको बताएका छन् ।
आइतबार विश्व पर्यटन दिवस–२०२६ को अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उनले पर्यटन क्षेत्रलाई राष्ट्रिय समृद्धि र वातावरणीय दिगोपनासँग जोडेर अघि बढ्नुपर्ने आवश्यकता रहेको पनि बताए।
सचिव सुवेदीले नेपालको प्राकृतिक सौन्दर्य, हिमाल, पहाड, नदी, वनजङ्गल, जैविक विविधता तथा ऐतिहासिक सम्पदाको संरक्षण र प्रचारप्रसारमा जोड दिए ।
उनले नेपालको मौलिक संस्कृति र विविधतालाई पर्यटन विकासको महत्वपूर्ण आधार भएको भन्दै यसको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने बताए । नेपालको शान्ति, प्राकृतिक सम्पदा र सांस्कृतिक विविधता विश्वका पर्यटकका लागि आकर्षणको केन्द्र रहेको उल्लेख गर्दै उनले यी सम्पदाको संरक्षण गर्नु सबैको साझा दायित्व भएको उल्लेख गरे ।
विश्वका १४ अग्ला हिमालमध्ये आठवटा नेपालमै हुनु तथा विभिन्न जातजाति र भाषाभाषीको विविधताले नेपालको पर्यटनलाई विशिष्ट बनाएको उनको भनाइ छ ।
सचिव सुवेदीले पर्यटन क्षेत्रको विकासका लागि प्रदेश सरकारले सन् २०२५ देखि २०४० सम्मको लागि रणनीति बनाएर काम गरिरहेको जानकारी दिए ।
बागमती प्रदेश सरकारले सन् २०२७ लाई ‘वेलनेस इयर’ का रूपमा मनाउने गरी तयारी गरिरहेको पनि उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्