फ्लाई दुबईको उडानसँगै पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको आशा


पोखरा । सञ्चालनमा आएको झन्डै तीन वर्षपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडानको सम्भावना बलियो बनेको छ।

फ्लाई दुबईको जहाज पोखरामा अवतरण गरेपछि पर्यटन व्यवसायी तथा स्थानीयमा नयाँ आशा पलाएको छ।

विमानस्थल सञ्चालनमा आएयता नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन। यसअघि हिमालय एयरलाइन्सले पोखरा–ल्हासा उडानको प्रयास गरे पनि यात्रु अभावका कारण सेवा निरन्तर हुन सकेन।

पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले नियमित अन्तर्राष्ट्रिय उडानले पोखरालाई विश्वका पर्यटकीय गन्तव्यसँग प्रत्यक्ष जोड्नुका साथै स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने बताए। उनले फ्लाई दुबईको आगमनलाई पोखराको पर्यटन विकासका लागि महत्वपूर्ण सुरुवातका रूपमा लिएका छन् ।

नेपाल पर्यटन बोर्डका सदस्य सन्तोष पोखरेलले पोखराबाट अन्तर्राष्ट्रिय उडानको सम्भावनालाई दिगो बनाउन विदेश केन्द्रित प्रवद्र्धन आवश्यक रहेको बताए उनले ‘जाऊँ है पोखरा’ अभियानलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिँदै निजी क्षेत्र, सञ्चारमाध्यम र विश्वभर रहेका नेपाली समुदायको सहकार्य आवश्यक रहेको बताए।

पर्यटन व्यवसायी गोपी भट्टराईले नियमित उडान सुरु भएमा होटल, यातायातलगायत समग्र पर्यटन व्यवसायले नयाँ गति लिने बताए। उनका अनुसार फ्लाई दुबईको उडानले पोखरा अन्तर्राष्ट्रिय उडानका लागि सक्षम रहेको सन्देशसमेत दिएको छ।

फ्लाई दुबईको उडानसँगै एयर अरेबिया, इमिरेट्स र इन्डिगोलगायतका एयरलाइन्सलाई समेत पोखरामा आकर्षित गर्ने सम्भावना बढेको व्यवसायीहरूको दाबी छ।

सरोकारवालाका अनुसार अबको मुख्य चुनौती अन्तर्राष्ट्रिय उडानलाई चार्टर्डमा मात्र सीमित नराखी नियमित व्यावसायिक तालिकामा सञ्चालन गर्नु हो। उडानको निरन्तरता र दिगोपन कायम गर्न सरकार, निजी क्षेत्र र पर्यटन क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक देखिएको छ।