काठमाडौँ । नारायणी नदीको बाढीले बगाएर पुलमा गएर अड्किएको राइनो क्रुज सिपलाई क्रेनको सहायताले निकाल्ने प्रयास भइरहेको सडक विभागले जनाएको छ ।
सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज न्यौपाने क्रुज सिपलाई क्रेनको सहयताले निकाल्ने प्रयास भइरहेको बताए ।
उनकाअनुसार ७० टन तौल रहेको क्रुज सिपलाई तीन वटा क्रेनको सहायताले निकाल्न प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसँगको समन्वयमा विभागले काम गरिरहेको बताए। अबको केही घण्टामा क्रुज निकाल्न सकिने उनको भनाइ छ ।
उनले क्रुजसम्म पुग्नको लागि ट्र्याक खोलिसकेको जानकारी दिए। झन्डैं १५ करोडको लगानीमा बनेको क्रुज नेपाल कै पहिलो क्रुज हो ।
उनले भने, ‘यही असोज ९, १० र ११ गतेसम्म परेको अविरण वर्षाको कारण गण्डकी बेसिनमा पानीको वहाव बढी भयो । नारायणी नदी खतराको तहभन्दा निकै माथि पुगेको थियो । त्यहीबीचमा त्यहाँ सञ्चालन भइराखेको क्रुज बगाएको हो । क्रुज बगाइसकेपछि त्यसले पनि असर पार्यो । पुलको दायाँ किनारातर्फ रहेको अन्तिम पेयर र एबटमेन्टको बीचमा गएर त्यो अड्किएको छ । यस्तो हुन्छ भनेर हामीले सोचेका थिएनौँ । त्यहा क्रुजलाई अलि सुरक्षित हिसाबले राख्नुपथ्र्यो । तर त्यसो गरिएन । हामीले हिजो बेलुकादेखि नै तीन ठाउँबाट क्रेनहरु मगायौँ । दुई वटा बुटवल–नारायणघाट सडकमा भएको कन्ट्र्याक्टरको क्रेन र एउटा चाहिँ त्रिशूलीमा रहेको हाइड्रोपावरको क्रेन जुन ८० टन क्यापासिटीको छ । त्यो मगाएर हिजो बेलुकादेखि नै हामीले काम गरिरहेका छौँ । हामीले त्यो ठाउँसम्म पुग्नको लागि ट्रयाक खोलिसक्यौँ । सडक विभागले नै त्यो ट्रयाक खोल्ने काम गरिरहेको छ । हामी जिल्ला प्रशासन, सशस्त्र प्रहरी, नेपाली सेना, प्रहरी सबैसँग समन्वय गरेर काम गरिरहेका छौँ । अहिले त्यसलाई हटाउनको लागि हाम्रो टोली तयारी अवस्थामा रहेको छ । विभागकै एकजना इन्जिनियर टोलीको नेतृच्व गरिरहेको छ । सोमवार दिउँसोम्म हामी त्यो क्रुज हटाइसकेका हुन्छौँ ।’
पृथ्वीराजमार्ग आज साँझसम्म खुलाउने तयारी
उनले पृथ्वीराजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए । राजमार्गको विभिन्न स्थानमा गएको पहिरो हटाइसकिएको र कृष्णभीरसमेत खुलिसकेको भन्दै साँझ राजमार्ग सञ्चालनमा ल्याउनेगरी विभागले काम गरिरहेको उनको भनाइ छ ।
अहिले कृष्णभीरमा रहेको बोल्डर हटाउने कार्य भइरहेको उनले बताए। उनले वर्षाको कारण अन्य राजमार्ग र पुलमा पुगेको क्षतिको विवरण संकलनको कार्य भइरहेको समेत बताए । उनले सडक विभागले सरकारी तथा निजी क्षेत्रबाट समेत मेसिन भाडामा लिएर सडक तथा राजमार्ग खुलाउने कार्य गरिरहेको बताए ।
उनले भने, ‘अन्य ठाउँमा राजमार्ग भत्किएको र पुलहरु बगाएको कुरा आएको छ । हामीले अहिले बुझ्ने, जानकारी लिने कार्य गरिरहेका छौँ । पोखराबाट हेभी इक्विपमेन्ट डिभिजनबाट मेसिनहरु मोबिलाइज भइसकेका छन् । राजमार्गहरु ठ्याक्कै यति दिनमा खुल्छन् भनेर भन्न सक्ने अवस्था छैन । तर हामीले सरकारी सबै तथा निजी क्षेत्रसँग मेसिन भाडामा लिएर पनि काम शुरु गरिसकेको अवस्था छ । मालढुङ्गाको पुललाई पनि मर्मत गरेर चलाउने तयारी गरिरहेका छौँ । त्यसको मर्मतको लागि हिजो नै त्यहाँ मेसिनहरु पुगिसकेको अवस्था छ । पृथ्वीराजमार्ग आज साँझसम्म खोल्ने तयारीमा छौँ ।’
उनले बागलुङ र पर्वत जोड्ने मालढुंगा पुल समेत तत्काल सुचारु गर्नेगरी काम भइरहेको बताए।


प्रतिक्रिया दिनुहोस्