बाढीपहिरोले कालीगण्डकी कोरिडोर अवरुद्ध हुँदा कोरोला नाकाबाट सामान आयात निर्यात प्रभावित


काठमाडौँ । असोज ८ गतेदेखि परेको अवरिल वर्षाका कारण कालीगण्डकी करिडोरमा अवरोध हुँदा सामान आयात निर्यात प्रभावित बनेको छ ।

भोटेकोसी प्रलयले रसुवा नाका बन्द भएका बेला कोरोला नाका हुँदै समान आयात निर्यातमा समेत अवरोध भएको हो ।

वर्षाका कारणले कालीगण्डकी कोरिडोर (मालढुङ्गा– बेनी– जोमसोम– कोरला) सडक योजनाको विभिन्न खण्डमा पहिरो, सडक कटान एवं पुलको पहुँचमार्ग बगाएको कारणले सडक अवरोध भएको छ ।

उक्त सडक खण्डमा पर्ने लाटीखोला, फर्से, जुकेखोला, केराबारी, गलेश्वर, रघुगंगा पुल, बैसरी १, २, ३, बेगखोला, महभीर, नैनीबगर, जलथले, सुकेबगर, दाना, लाटोखोला भन्ने स्थानमा सडक माथिबाट लेदो सहितको पहिरो गएर सडक अवरुद्ध भएको छ । सडकखण्डको पोखरेबगर पुलको बायाँतर्फको सडक पहुँच बगाएको, तातोपानी कुण्ड, नाच्र्यांग, खामभित्ता भन्ने स्थानमा नदीको उच्च वहावको कारणले बाटो कटान भएकोले सडक अवरोध भएको छ ।

अवरोध भएको सडक खण्डलाई सञ्चालन गर्न सडक विभाग एवं सो मातहतका निकायहरूले द्रुत गतिमा काम गरिरहेको सरकारले जनाएको छ । अवरोध भएका केही स्थानहरूमा सडक सञ्चालन भइसकेको र आगामी दिनमा बर्षा रोकिएर काममा कुनै अवरोध नभएमा ३ देखि ६ दिनभित्र सडक पूर्णरूपमा सञ्चालन हुने सडक विभागले जनाएको छ ।

भन्सार विभागले कोरोला नाकाबाट सामान आयात निर्यात गर्ने कार्यमा सडक अवरोधबाट तत्काल समस्या परेको भए पनि सडक विभाग एवं सो मातहतका निकायहरूको निरन्तर प्रयासबाट छिटै सडक सञ्चालन हुने विश्वास व्यक्त गरेको छ ।