नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनु पर्दैनः हान अध्यक्ष शाह


काठमाडाैँ । होटल संघ नेपालका अध्यक्ष विनायक शाहले नेपाल भ्रमणको लागि सुरक्षित रहेको सन्देश तत्काल विश्वभर फैलाउन आवश्यक रहेको बताएका छन् । 

भोटेकोशी बाढीले नेपालको पर्यटकीय क्षेत्रमा नकरात्मक असर व्यहोनुपरेकोले त्यसको पुनरुत्थानका लागि तत्काल प्रवद्र्धन अभियान सञ्चालन गर्नुपर्ने उनले बताएका हुन ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले नेपाल भ्रमणको लागि सुरक्षित रहेको सन्देश विश्वभर फैलाउन आवश्यक रहेको उल्लेख गरे । नेपालको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि भारत र चीन लगायतका प्रमुख पर्यटकीय बजारमा तत्काल प्रवद्र्धन अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

भोटेकोशी करिडोरमा आएको विपत्तिले अन्तर्राष्ट्रियस्तरमा नेपालबारे नकारात्मक सन्देश जानसक्ने भएकोले त्यसलाई चिर्न आवश्यक रहेको उनको भनाइ छ । उनले विपद् प्रभावित क्षेत्र र सामान्य अवस्थामा रहेका पर्यटकीय गन्तव्यबीचको भिन्नता स्पष्ट पार्न आवश्यक रहेको बताए ।

अध्यक्ष शाहले काठमाडौँ, चितवन र पोखरालगायतका प्रमुख पर्यटकीय गन्तव्य सामान्य अवस्थामा रहेको सन्देश अन्तर्राष्ट्रिय बजारमा पु¥याउन सरकार, नेपाल पर्यटन बोर्ड, विदेशस्थित नेपाली दूतावास र निजी क्षेत्रले संयुक्त रूपमा काम गर्नुपर्नेमा जोड दिए ।

उनले दशैं–तिहारको पर्यटकीय सिजनअघि नै भारत र चीनमा प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । नेपाल पर्यटन बोर्डको मुख्य जिम्मेवारी पर्यटन प्रवद्र्धन र सहजीकरण भएकाले विपद्पछिको अवस्थामा यस्ता कार्यक्रमलाई तीव्रता दिनुपर्ने उनको भनाइ छ ।

उनले भने, “नेपाल टुरिजम बोर्डले दशैं–तिहार अगाडि नै भारत र चीनमा गएर नेपाल प्रमोसन गर्नुपर्ने आवश्यकता छ । भोटेकोसीको करिडोरमा यो विपत्ति भएको हो, नेपालभरि त होइन । नेपाल काठमाडौं, चितवन, पोखरा लगायत त सबै नर्मल नै छ । यो मेसेज हामीले स्ट्रङली दिनुपर्छ । हाम्रा संसारभरि छरिएका हाम्रा नेपाली एम्बेसीहरू र नेपाल टुरिजम बोर्ड, हामी निजी क्षेत्र सबैजना यसमा लागि परेका छौँ । अझ यसलाई स्टेप–अप गर्नुपर्छ, अझ बढाउनुपर्छ, प्रवद्र्धन कार्यक्रम अविलम्व छिटो भन्दा छिटो जानैपर्ने अवस्था छ । त्यो गरेको खण्डमा हामीले धेरै बजार गुमाउँदैनौँ । फेरि पनि हामीले फेरि त्यसलाई रिकभर गर्न सक्ने अवस्था छ ।”

उनकाअनुसार नेपाल आउने पर्यटकहरु अधिकांश पदयात्रा, पर्वतारोहण र ¥याफ्टिङजस्ता साहसिक पर्यटनमा आकर्षित हुने गरेका छन् । यस्ता पर्यटक जोखिमबारे जानकार हुने भएकाले प्राकृतिक विपत्तिका कारण समग्र नेपालको पर्यटन प्रभावित हुने अवस्था आउन नदिन वास्तविक अवस्थाबारे सही सूचना संप्रेषण गर्नुपर्ने उनले बताए ।

उनले भूकम्प र कोभिड महामारीका बेला पनि नेपाली पर्यटन क्षेत्रले चुनौती सामना गरेको स्मरण गर्दै यसपटक पनि सरकार र निजी क्षेत्रबिच समन्वय गरेर योजनावद्ध रूपमा अघि बढे पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न सकिने विश्वास व्यक्त गरे ।

अन्तर्राष्ट्रिय एयरलाइन्समार्फत नेपालको प्रवद्र्धन गर्न सुझाव

अध्यक्ष शाहले नेपालको पर्यटन पुनरुत्थानका लागि अन्तर्राष्ट्रिय एयरलाइन्सहरूको विश्वव्यापी सञ्जाललाई समेत उपयोग गर्नुपर्ने बताए । टर्किस एयरलाइन्स, सिंगापुर एयरलाइन्स, क्याथे प्यासिफिक र कतार एयरवेजलगायतका एयरलाइन्ससँग सहकार्य गरी नेपाल भ्रमणसम्बन्धी सकारात्मक सन्देश विश्व बजारमा पु¥याउनुपर्ने उनको भनाइ छ ।

नेपालमा पर्यटकको आगमन बढ्दा एयरलाइन्सको व्यवसायसमेत विस्तार हुने भएकाले नेपालको पर्यटन प्रवद्र्धनमा उनीहरूको सहकार्य उपयोगी हुने उनले बताए । पोखरामा सेप्टेम्बर २३ देखि फ्लाई दुबईले दैनिक उडान सुरु गरेपछि नेपालको पर्यटन क्षेत्र सामान्य अवस्थामा फर्किरहेको सन्देश गएको उनको भनाइ छ ।

विपद्पछिको पर्यटन पुनरुत्थानका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदार, नेपाललाई सहयोग गर्न इच्छुक संस्था र व्यक्तिहरूलाई एकीकृत गर्दै स्पष्ट कार्ययोजनासहित अघि बढ्न आवश्यक रहेको उनले बताए । नेपालको पर्यटन क्षेत्रसंग चुनौती सामना गरेको अनुभव र पुनरुत्थान गर्ने क्षमता दुबै रहेको उनको भनाइ छ ।

उनले दशैँ–तिहारको मुख्य पर्यटकीय सिजनमा हुनसक्ने आर्थिक क्षति न्युनिकरण गर्न तत्काल प्रवद्र्धन, प्रभावकारी सूचना संप्रेषण र समन्वित कार्ययोजनालाई प्राथमिकता दिनुपर्ने बताए । पछिल्लो समय पर्यटकको बुकिङ रद्ध हुने क्रम घट्दै गएको उनको भनाइ छ ।

साथै उनले पर्यटन व्यवसायी, होटलका कर्मचारी तथा विपद्बाट प्रभावित व्यवसायीलाई राहत उपलब्ध गराउन पनि आग्रह गरे । होटल संघले आफ्ना अन्तर्राष्ट्रिय सम्पर्क र ट्राभल एजेन्टमार्फत ‘नेपाल कलिङ, नेपाल नाउ’ अभियान सञ्चालन गर्दै नेपाल भ्रमणका लागि सुरक्षित र उपयुक्त गन्तव्य रहेको सन्देश प्रवाह गरिरहेको उनको भनाइ छ ।