‘जलवायु न्याय’को एजेण्डाले विश्वमञ्चमा नेपालको ध्यानाकर्षण गरायो : परराष्ट्रमन्त्री खनाल


काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले नेपालले उठाएको ‘जलवायु न्याय’को एजेण्डाले विश्वमञ्चमा गम्भीर ध्यानाकर्षण गराउन सफल भएको दाबी गरेका छन्।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खनालले प्रधानमन्त्री बालेन्द्र साहको सम्बोधन तथा आफूले विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा राखेका धारणाले नेपालको कूटनीतिक छवि थप सुदृढ भएको दाबी गरे।

महासभाका क्रममा जलवायु परिवर्तनका कारण नेपालजस्ता पर्वतीय मुलुकले भोगिरहेको असरलाई ‘हिमालयन सुनामी’का रूपमा प्रस्तुत गर्दै विश्व समुदायको ध्यानाकर्षण गराएको उनले बताए।

विशेषगरी भोटेकोशी बाढीपछिको पुनर्निर्माणका लागि विभिन्न देशसँग द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ता गरी आर्थिक तथा प्राविधिक सहयोगको आग्रह गरिएको मन्त्री खनालले जानकारी दिए।

उनका अनुसार नेपालले अब आपत्कालीन राहतमा मात्र सीमित नभई जलवायुजन्य क्षति न्यूनीकरण तथा पुनर्निर्माणका लागि ‘जलवायु वित्त’ र ‘क्षतिपूर्ति कोष’को प्रभावकारी परिचालनमा जोड दिएको छ।

मन्त्री खनालले भने, “भोटेकोशी बाढी, जसलाई हामीले ‘हिमालयन सुनामी’का रूपमा लिएका छौँ, ले जलवायु न्यायको विषयलाई विश्वमञ्चमा उच्च प्राथमिकताका साथ उठाउनुपर्ने आवश्यकता थप स्पष्ट गरेको छ।”

उनका अनुसार प्रधानमन्त्री साहले महासभाको जनरल डिबेटमा गरेको सम्बोधनमा जलवायु न्यायसहित नेपालको राष्ट्रिय हितसँग सम्बन्धित प्रमुख विषय प्रभावकारी रूपमा प्रस्तुत गरेका थिए। लस एण्ड ड्यामेज फन्डलगायत जलवायु वित्तीय संयन्त्रबाट स्रोत परिचालनलाई सरल र सहज बनाउन तथा जलवायु न्यायलाई व्यवहारमा उतार्न प्रधानमन्त्रीले गरेको आह्वान महत्वपूर्ण रहेको उनको भनाइ छ।

भोटेकोशी बाढीपछि खोज, उद्धार, राहत तथा सहयोगमा योगदान पुर्‍याउने छिमेकी मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायप्रति नेपालका तर्फबाट आभार व्यक्त गर्दै आगामी पुनर्निर्माणका लागि थप सहयोगको आग्रहसमेत गरिएको मन्त्री खनालले बताए।

महासभामा सहभागी हुने क्रममा नेपालले तीन नयाँ मुलुक—ग्रेनाडा, नामिबिया र सेनेगलसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको उनले जानकारी दिए। यी सम्बन्ध स्थापनासँगै नेपालको कूटनीतिक सम्बन्ध भएका मुलुकको संख्या १८८ पुगेको उनको भनाइ छ।

त्यसैगरी, विभिन्न मुलुकसँग कूटनीतिक तथा सेवा राहदानीवाहकका लागि भिसा छुटसम्बन्धी समझदारीपत्रमा समेत हस्ताक्षर भएको मन्त्री खनालले जानकारी दिए।

महासभाका क्रममा भएका उच्चस्तरीय बैठक, समारोह तथा द्विपक्षीय भेटवार्ताबाट नेपालको परराष्ट्र नीति र राष्ट्रिय हितलाई अन्तर्राष्ट्रियस्तरमा थप प्रभावकारी रूपमा प्रस्तुत गर्ने अवसर प्राप्त भएको उनले बताए।

“संयुक्त राष्ट्रसंघ महासभाको ८१औँ सत्रका क्रममा सम्माननीय प्रधानमन्त्रीज्यूले गर्नुभएको सम्बोधन तथा विभिन्न बहुपक्षीय बैठकमा भएको सहभागिता र छलफलबाट नेपालको कूटनीतिक छवि थप सुदृढ भएको छ,” उनले भने।

नेपालले राखेका प्रस्ताव तथा दृष्टिकोणप्रति विश्व समुदाय सकारात्मक रहेको अनुभूति भएको उल्लेख गर्दै मन्त्री खनालले आगामी दिनमा नेपालको कूटनीतिलाई थप प्रभावकारी र सशक्त बनाउँदै राष्ट्रिय हित प्रवद्र्धनमा ठोस योगदान पुर्‍याउने आधार तय भएको बताए।

मन्त्री खनालले संयुक्त राज्य अमेरिका र संयुक्त अरब इमिरेट्स ९यूएई० ले भोटेकोशी बाढीपीडितका लागि घोषणा गरेको आर्थिक सहयोगप्रति आभार व्यक्त गरे। बाढीपछिको पुनर्निर्माणमा सहयोग गर्न अन्य अन्तर्राष्ट्रिय समुदाय पनि सकारात्मक देखिएको उनले बताए।

प्रधानमन्त्री साहको महासभा सम्बोधनको चर्चा गर्दै मन्त्री खनालले उक्त सम्बोधन यस वर्षको महासभामा सबैभन्दा धेरै हेरिएका र चासो लिइएका भाषणमध्ये एक बनेको दाबीसमेत गरे।