काठमाडौँ । विद्युत नियमन आयोगले जलविद्युत आयोजना निर्माणका लागि विपद्प्रतिरोध सम्बन्धी मापदण्ड बनाउने प्रक्रिया सुरु गरेको छ ।
भोटेकोसी प्रलयपछि आयोगले जलविद्युत आयोजना निर्माण गर्दा अपनाउनुपर्ने विपद्सम्बन्धी मापदण्ड निर्माण गर्न लागेको हो ।
अहिलेसम्म आयोजना निर्माणका लागि नियमन मापदण्ड छैन । आयोगले विपद्प्रतिरोधी मापदण्ड बनाउनका लागि विज्ञहरूको समूहलाई जिम्मेवारी दिएको छ ।
आयोगका अध्यक्ष डा.रामप्रसाद धितालले भने,“पछिल्लो केही समययता विपद्ले जलविद्युत आयोजनामा ठुलो प्रभाव पारेको छ । भोटेकोसी बाढीपछि विपद्प्रतिरोधी आयोजना निर्माणका लागि मापदण्डको महसुस गरेका छौँ र काम पनि सुरु गरिसकेका छौँ ।”
उनले विज्ञहरूलाई यसबारे अध्ययन गर्न जिम्मा दिइसकेको जानकारी दिए ।
उनले भने,“हामीले विज्ञहरूलाई यसको मस्यौदा तयार गर्न भनिसकेका छौँ । पहिलो त क्षति नै न्युनिकरण कसरी गर्ने भन्नेमा जोड हुने छ । त्यसपछि भएको क्षतिको कसरी व्यवस्थापन गर्ने भन्नेबारेमा पनि हामीले नियमनको उपाय अपनाउँछौँ ।”
पछिल्लो समय बाढीपहिरोले जलविद्युत आयोजनामा हुने क्षति बढेको देखिएको छ । पछिल्लो भोटेकोसी प्रलयले जलविद्युत क्षेत्रमा मात्रै ठुलो जनशक्ति र एक खर्बभन्दा माथीको क्षति पुराएको छ । अध्यक्ष धितालले भने,“ वास्तवमा अहिलेसम्म नियमनको मापदण्ड बनेको थिएन, अब हामी बनाउँछौँ ।”
अध्यक्ष धितालले झन्डै ९ सय, एक हजार मेगावाटका आयोजनाहरू समस्यामा परिसकेको भन्दै अब आयोजनाहरूको ढाँचा कस्तो बनाउने हो विज्ञहरूसँग गहन छलफलसमेत गर्ने उनको भनाई छ । उनले भने,“ अब हामी विपद् थाम्नसक्ने पूर्धार निर्माणको बाटोमा हामी जान्छौँ । यसका लागि नियामकीय उपकरण तयार गर्ने र लागु गर्ने बाटोमा जान्छौँ ।”


प्रतिक्रिया दिनुहोस्