भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौती, ‘हामी समर्थक हौँ, दास होइनौँ’


काठमाडाैँ । प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले वर्तमान सरकारको ६ महिने कार्यकालमाथि प्रश्न उठाउँदै भ्रष्टाचार नियन्त्रण र अपराधीमाथि कारबाही गर्न ढिलाइ नगर्न चेतावनी दिएका छन् । 

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा उनले सत्तापक्षले प्रतिशोधको भावना त्यागेर सुशासन र रोजगारीको क्षेत्रमा ठोस नीति अघि बढाए आफ्नो दलले बिनाशर्त साथ दिने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

शाहीले तत्कालीन जनआन्दोलनको भावना र जनताको अपेक्षाअनुसार सरकार अघि बढ्न नसकेको टिप्पणी गरे । उनले आन्दोलनका क्रममा भएको हत्या, हिंसा र सिंहदरबार तथा संसद् भवन तोडफोडका घटनामा संलग्न दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन सरकारले उदासिनता देखाएको आरोप लगाए ।

उनले लामो समयदेखि थन्किएका भ्रष्टाचारका ठूला काण्डहरूःजस्तै एनसेल, गिरीबन्धु टी–स्टेट, भुटानी शरणार्थी प्रकरण र चिनियाँ विमान खरिद घोटालाको छानबिन कहाँ पुग्यो भन्दै सरकारसँग जवाफ माग गरे । उनले कानूनको प्रयोग प्रतिशोध साँध्न नभई न्यायका लागि हुनुपर्नेमा जोड दिए। 

उनले भने, “हामी सरकारका प्रतिपक्षी हौँ, विरोधी होइनौँ । यदि भ्रष्टाचारीलाई कारबाही गर्ने हो भने हामी तपाईंहरूकै साथमा छौँ, सडकदेखि संसद्सम्म साथ दिन्छौँ । हामी सरकारलाई सही मार्ग देखाउन चाहन्छौँ । सत्तापक्षका सांसदहरूले सरकारका कमजोरी ढाकछोप गर्ने होइन, बरु सही बाटो देखाउन सक्नुपर्छ । हामी दास होइनौँ, त्यसैले सरकारका गलत कदमको विरोध गर्न हामी पछि हट्ने छैनौँ ।”

रोजगारीको विषयमा चिन्ता व्यक्त गर्दै शाहीले विमानस्थलमा युवाहरूको लर्को देख्नुपर्ने विवशता अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराए । उनले युवाहरू विदेशिन नपर्ने वातावरण बनाउन र ‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने अवधारणासहित संविधान संशोधन प्रक्रिया अघि बढाउन माग गरे ।