काठमाडाैँ । माछापुच्छ्रे बैंकले ग्राहक सेवामुखी च्याटबोट ‘माया’ औपचारिक रूपमा सार्वजनिक गरेको छ । बैंकको आधिकारिक वेबसाइटमा मायाको आईकन देख्न सकिन्छ र यसै मार्फत ग्राहक हरुले आफ्नो जिज्ञासा च्याट मार्फत राख्न सक्छन् ।
ग्राहकलाई प्राथमिकतामा राखेर विकास गरिएको माया एक अन्तरक्रियात्मक डिजिटल प्लाटफर्म हो । नियमित बैंकिङसम्बन्धी जानकारीका लागि शाखा पुग्नुपर्ने वा बैंक कर्मचारीहरुसँग प्रत्यक्ष सम्पर्क गर्नुपर्ने आवश्यकतालाई कम गर्दै आवश्यक जानकारी सहज रूपमा प्राप्त गर्न सकियोस् भन्ने उद्देश्यले माया प्रविधिको विकास गरिएको हो ।
मायाको सुरुवातले प्रविधिको प्रभावकारी प्रयोगमार्फत अझ दक्ष तथा ग्राहकअनुकूल बैंकिङ अनुभव सिर्जना गर्दै स्मार्ट बैंक बन्ने बैंकको दृष्टिकोणलाई समेत थप सहयोग गर्नेछ ।
साथै, ग्राहकका जिज्ञासाहरूलाई अझ सटीक, सान्दर्भिक र प्रभावकारी रूपमा सम्बोधन गर्न मायाको क्षमता तथा कार्यसम्पादनलाई निरन्तर सुधार तथा परिष्कृत गर्दै लगिनेछ । ग्राहकबाट प्राप्त हुने सुझाव तथा प्रयोगबाट सिक्दै भविष्यमा यसको शुद्धता र उपयोगितालाई थप अभिवृद्धि गर्दै लगिनेछ ।


प्रतिक्रिया दिनुहोस्