अर्थमन्त्री वाग्ले दुई दिने भ्रमणका लागि वासिङ्टन डीसी प्रस्थान


काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गाको निमन्त्रणामा दुई दिने भ्रमणका लागि शुक्रबार वासिङ्टन डीसी प्रस्थान गरेको छ।

अर्थ मन्त्रालयका अनुसार असोज १९ र २० गते हुने भ्रमणका क्रममा द्विपक्षीय सहयोग अभिवृद्धि, पुनर्निर्माण, एफएटीएफको ग्रे लिस्टबाट बाहिरिने प्रक्रिया लगायतका आर्थिक सुधारका विषयमा छलफल हुनेछ।

भ्रमणका क्रममा अर्थमन्त्री वाग्ले विश्व बैंक, अमेरिकी अर्थ मन्त्रालय तथा इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसन (डिएफसी) का उच्च पदस्थ अधिकारी र निजी क्षेत्रका अग्रणी लगानीकर्तासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

भेटवार्तामा हालैको भोटेकोशी बाढीबाट क्षति पुगेका भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माण तथा उत्थानशील विकासका लागि थप सहयोग परिचालन गर्ने विषयमा विश्व बैंक र अमेरिकी सरकारका प्रतिनिधिसँग छलफल गरिने मन्त्रालयले जनाएको छ।

त्यस्तै सडक तथा विद्युत् प्रसारण लाइनलगायत महत्वपूर्ण पूर्वाधारमार्फत मुलुकमा रोजगारी र आर्थिक अवसर सिर्जना तथा विकास साझेदार एवं निजी क्षेत्रको लगानी अभिवृद्धिका लागि पहल गरिने भएको छ।

अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता अमृत लम्सालद्वारा जारी विज्ञप्तिमा भ्रमणबाट नेपालले विकास साझेदार र निजी क्षेत्रसँगको सहकार्य विस्तार गर्दै पूर्वाधार पुनर्निर्माण तथा आर्थिक विकासका लागि थप स्रोत परिचालन गर्ने उद्देश्य राखिएको उल्लेख छ।