विद्युत प्राधिकरण आफै उत्पादनमा लाग्दा निजी क्षेत्रका पोल उत्पादन उद्योग सङ्कटमा : अध्यक्ष प्रधान


काठमाडौँ । नेपाल पोल एसोसिएसनका अध्यक्ष किशोर प्रधानले निजी क्षेत्रका स्वदेशी पोल उत्पादन उद्योग गम्भीर सङ्कटमा परेको भन्दै यसलाई जोगाउन व्यवसायीहरूबिच एकता र सरकारसँग प्रभावकारी संवाद आवश्यक भएको बताएका छन् ।

नेपाल विद्युत प्राधिकरणको उत्पादनसँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता, घट्दो बजार हिस्सा र समन्वय अभावका कारण स्वदेशी उद्योग अप्ठ्यारो अवस्थामा पुगेको उनले चेतावनी दिएका हुन् ।

नेपाल पोल एसोसिएसनको नवौं वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष प्रधानले विद्युत प्राधिकरण आफैले पोल उत्पादन गर्न थालेपछि निजी क्षेत्रका स्वदेशी उद्योगहरूको अस्तित्व नै सङ्कटमा पर्न थालेको बताए । उनले स्वचालित उत्पादन प्रणालीसहित प्राधिकरणले नै पोल उद्योग स्थापना गर्न लागेको भन्दै निजी क्षेत्रका व्यवसायीबिचसमन्वय र साझा रणनीतिको अभाव देखिएको उल्लेख गरे ।

“अहिले नेपाल विद्युत प्राधिकरण ११ मिटर र १३ मिटरका पोल उत्पादन गर्ने अत्याधुनिक प्लान्ट सञ्चालनको तयारीमा छ । ग्राउन्ड टेस्टसमेत भइसकेको अवस्था छ। अब हाम्रो उद्योग रहन्छ कि रहँदैन भन्ने प्रश्न उठ्न थालेको छ,” उनले भने, “यस्तो अवस्थामा हामी विभाजित भएर होइन, एकजुट भएर सरकारसँग संरक्षणका लागि पहल गर्नुपर्छ ।”

प्रधानले उद्योगीहरूले आफ्नै कमजोरीको समीक्षा गर्नुपर्ने आवश्यकता पनि औँल्याए । उनले देशभर ४७ ओटा पोल उत्पादन उद्योग रहेकोमा १०/१२ ओटा बन्द भइसकेको बताए ।

“हामीले कहिलेकाहीँ ऐनामा आफ्नो अनुहार हेरेजस्तै आत्मसमीक्षा गर्नुपर्छ । सदस्यहरूले कहाँ गल्ती गरे, संस्थाले कहाँ कमजोरी गर्‍यो भन्ने कुरा इमान्दारीपूर्वक स्वीकार्न सक्नुपर्छ,” उनले भने, “हाम्रो आफ्नै त्रुटिका कारण पनि आज यो अवस्था आएको अनुभव मैले गरेको छु ।”

उनले विश्व बैंकलगायत दातृ निकायबाट अर्बौं रुपैयाँ बराबरका पूर्वाधार आयोजनाका ठेक्का आउने क्रममा रहे पनि स्वदेशी उद्योगले त्यसको पर्याप्त लाभ लिन नसकेको बताए ।

“आज अर्बौं रुपैयाँका परियोजना र ठेक्काहरू आउने क्रममा छन् तर हाम्रो बिचमा समन्वयको अभाव छ । उनले भने, “पहिले साना परियोजनामा समेत व्यक्तिगत हस्तक्षेप र प्रतिस्पर्धाका कारण सबैले अवसर पाउन सकेनन् । अब ठुला परियोजनामा पनि त्यही अवस्था दोहोरिन दिनु हुँदैन । ”

प्रधानका अनुसार उद्योगीहरूबिच सहकार्य बलियो नबनाइए स्वदेशी पोल उद्योगले भविष्यमा थप चुनौती भोग्नुपर्नेछ । उनले आगामी दिनमा साझा रणनीति बनाएर सरकारसमक्ष उद्योग संरक्षण, सार्वजनिक खरिदमा स्वदेशी उत्पादनलाई प्राथमिकता र दीर्घकालीन औद्योगिक नीतिको माग गर्नुपर्ने बताए ।

उद्योग वाणिज्य महासङ्घको भूमिकाप्रति प्रश्न
उनले नेपाल उद्योग वाणिज्य महासङ्घको भूमिकामाथि पनि प्रश्न उठाउँदै निजी क्षेत्रको सबैभन्दा ठुलो संस्थाको प्रभाव र विश्वसनीयता कमजोर बन्दै गएको टिप्पणी गरे ।

“एक समय महासङ्घ निजी क्षेत्रको सबैभन्दा शक्तिशाली आवाज थियो तर अहिले त्यही प्रभाव कायम राख्न सकेको छ कि छैन भन्ने प्रश्न उठ्न थालेको छ,” उनले भने, “हामीले महासङ्घलाई कस्तो संस्थाका रूपमा अघि बढाउने भन्ने विषयमा पनि गम्भीर बहस गर्नुपर्ने बेला आएको छ ।” प्रधान महासङ्घको पूर्वउपाध्यक्षसमेत हुन् ।

प्रधानले निजी क्षेत्रका संस्थाहरूबिच बढ्दो प्रतिस्पर्धाभन्दा साझा हितका मुद्दामा सहकार्य आवश्यक रहेको उल्लेख गर्दै पोल उद्योगलगायत उत्पादनमूलक क्षेत्र बचाउन एकीकृत आवाज अपरिहार्य भएको बताए । “उद्योग बचाउने हो भने अब एकताबद्ध रूपमा अघि बढ्नुपर्छ। अन्यथा स्वदेशी उत्पादन क्षेत्र क्रमशः कमजोर हुँदै जाने जोखिम छ,” उनले भने।