भोटेकोशी–त्रिशूली बाढी : अत्यावश्यकबाहेक खोज तथा उद्धार स्थगित, पुनर्निर्माणमा जोड


काठमाडौँ । सरकारले भोटेकोशी–त्रिशूली बाढीपछि भइरहेको खोज तथा उद्धारको काममध्ये अत्यावश्यकबाहेकका गतिविधि हालका लागि स्थगित गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकले अत्यावश्यक खोज तथा उद्धारसँगै प्रभावित क्षेत्रमा पुनर्निर्माण र पुनर्स्थापनाको काम तीव्र बनाउने निर्णय गरेको हो।

जिल्ला सुरक्षा समिति, जिल्ला विपद् व्यवस्थापन समिति, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समिति तथा स्थलगत अवलोकनबाट प्राप्त सिफारिसका आधारमा खोज तथा उद्धारको प्राथमिकता परिवर्तन गर्ने निर्णय गरिएको हो।

बैठकले बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय तथा निकायबाट प्रस्तावित ५०४ वटा योजना तथा कार्यक्रमका लागि ५ खर्ब ५९ अर्ब १७ करोड ७२ लाख २७ हजार रुपैयाँ बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णयसमेत गरेको छ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ बमोजिम स्वीकृत ती योजना तथा कार्यक्रमका लागि अर्थ मन्त्रालयमार्फत स्रोत व्यवस्थापन गरिनेछ।

त्यस्तै, लागत अनुमान नखुलेका र प्राथमिकीकरण हुन बाँकी आयोजनाको विवरण प्राप्त भएपछि आवश्यक बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिइएको छ।

बैठकमा प्रधानमन्त्री शाहले विपद् व्यवस्थापनका काम संघ, प्रदेश र स्थानीय तहको समन्वयमा अघि बढिरहेको भन्दै अब पुनर्निर्माण र पुनर्स्थापनाको काम पनि सोही समन्वयमा अघि बढाइने बताए।

पुनर्निर्माण र पुनर्स्थापनाको कार्यमा विपक्षी दल तथा नेपाली कांग्रेसका संसदीय दलका नेता र बाग्मती, गण्डकी, मधेश तथा कोशी प्रदेशका मुख्यमन्त्रीहरूले पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता जनाएको बैठकले जनाएको छ।