काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले भोटेकोशी बाढीबाट प्रभावित व्यवसायीलाई राहतसँगै व्यवसाय पुनः सञ्चालनका लागि बेलआउट प्याकेज ल्याउन सरकारसँग माग गरेका छन्।
सिंहदरबारमा आयोजित भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा श्रेष्ठले बाढीका कारण विशेषगरी साना तथा मझौला व्यवसायीको पुँजी नै गुमेको बताए। महासंघको सर्वेक्षणअनुसार बाढीबाट प्रभावित उद्योगमध्ये करिब ८५ प्रतिशत साना तथा मझौला उद्योग छन्।
बाढीले सम्पत्ति र व्यवसाय बगाए पनि बैंकको ऋण बाँकी रहेकाले व्यवसायी थप समस्यामा परेको भन्दै उनले ‘बिजनेस रिभाइभल प्लान’ र बेलआउटको व्यवस्था गर्नुपर्ने बताए।
महासंघले फिल्डमै टोली परिचालन गरी निजी क्षेत्रमा भएको क्षतिको अध्ययन गरिरहेको र पूर्ण विवरण तयार गरी सरकारलाई बुझाउने श्रेष्ठले जानकारी दिए।
उनले क्षतिग्रस्त सडक, पुल, जलविद्युत् तथा पर्यटन पूर्वाधारलाई पुरानै ढाँचामा पुनर्निर्माण नगरी जलवायु उत्थानशील र सुरक्षित संरचना बनाउनुपर्नेमा जोड दिए। साथै, बाढी तथा पहिरोको जोखिम न्यूनीकरणका लागि प्रभावकारी पूर्वसूचना प्रणाली विकास गर्नुपर्ने बताए।
श्रेष्ठले बैंक तथा वित्तीय संस्थाले ऋण मूल्याङ्कन गर्दा बाढी, पहिरो र भौतिक जलवायु जोखिमलाई समेत समेट्नुपर्ने बताए। ऊर्जा दक्षता, नवीकरणीय ऊर्जा र जलवायु उत्थानशील पूर्वाधारमा निजी क्षेत्र लगानी गर्न इच्छुक भए पनि उच्च प्रारम्भिक लागतका कारण सरकारले वित्तीय सहयोग र विदेशी सहायता परिचालनमा सहजीकरण गर्नुपर्ने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्