काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थान (आइक्यान) ले विश्व बैंक र एसियाली विकास बैंक (एडिबी) का प्रतिनिधिहरूसँग शिष्टाचार भेटघाट तथा छलफल गरेको छ ।
आइक्यानको कार्यालय ललितपुरमा भएको छलफलमा मानक तथा आचारसंहिताको पालना सम्बन्धी प्रतिवेदन (आरओएससी) मूल्याङ्कन, कृत्रिम बुद्धिमत्ता (एआई) को प्रभाव तथा सार्वजनिक वित्त व्यवस्थापन (फिएफएम) मा भएका पछिल्ला विकासक्रमलगायत विषयमा विचार आदानप्रदान गरिएको आइक्यानले जनाएको छ ।
उक्त भेटघाटले साझा चासोका विषयमा अनुभव साटासाट गर्न र भावी सहकार्यका सम्भावनाबारे छलफल गर्ने अवसर प्रदान गरेको आइक्यानको भनाई छ ।
बैठकमा आइक्यानका अध्यक्ष सिए आनन्दराज शर्मा वाग्ले, उपाध्यक्ष सिए हेमकुमार काफ्ले, पूर्वअध्यक्ष सिए प्रवीनकुमार झा, कार्यकारी निर्देशक सिए विमल डंगोल, निर्देशक विनोदप्रसाद न्यौपाने तथा निर्देशक सिए किरणकुमार खत्री सहभागी थिए।
विश्व बैंकको तर्फबाट हिसाम वाली, माइकल वेल्स, तनुज माथुर, तिमिला श्रेष्ठ, श्रुति ढुङ्गेल, सिए प्रकाशजंग थापा र सिए विश्व बसौला र एडिबीको तर्फबाट आरोन क्रुज र जुलिटा पानिया उपस्थित रहेको आइक्यानले जनाएको छ ।
भेटवार्तामा नेपालमा व्यावसायिक मापदण्ड सुदृढीकरण, प्रविधिगत विकासलाई आत्मसात् गर्ने प्रयास तथा सार्वजनिक वित्त व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउने विषयमा निरन्तर संवाद र सहकार्यको आवश्यकता औँल्याइएको थियो ।
आइक्यानले यस्ता अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूसँगको सहकार्यले लेखा तथा वित्तीय क्षेत्रको क्षमता अभिवृद्धिमा थप योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।


प्रतिक्रिया दिनुहोस्