काठमाडौँ । बाढी तथा विपद् प्रभावित नेपाललाई थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग घोषणा गर्दै अस्ट्रेलियाले नेपालसँगको सम्बन्धलाई मानवीय सहयोगभन्दा फराकिलो बनाउने संकेत गरेको छ। शिक्षा, जलवायु, पर्यटन, लगानी, नवीकरणीय ऊर्जा, श्रम गतिशीलता र सिधा हवाई सम्पर्कसम्मका विषयमा सहकार्य विस्तार गर्ने गरी दुई देशबीच छलफल भएको छ।
मेलबर्नमा बिहीबार नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री सिनेटर पेनी वङबीच भएको द्विपक्षीय भेटवार्तामा पछिल्लो सहयोग घोषणा गरिएको हो। करिब १ अर्ब ६१ करोड नेपाली रुपैयाँ बराबरको उक्त सहयोग राहत, प्रारम्भिक पुनर्लाभ तथा पुनर्निर्माणका काममा परिचालन हुने जनाइएको छ।
यसअघि अस्ट्रेलियाले नेपालमा आपत्कालीन प्रतिकार्यका लागि ११ मिलियन अस्ट्रेलियन डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो। पछिल्लो घोषणासँगै विपद् प्रभावित क्षेत्रको पुनर्लाभ र पुनर्निर्माणमा अस्ट्रेलियाको सहयोग थप विस्तार भएको छ।
विदेशमन्त्री वङले नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति दुःख व्यक्त गर्दै विपद्पछिको उद्धार, पुनर्लाभ र पुनर्निर्माणमा अस्ट्रेलिया नेपालको साथमा रहने बताएकी छन्। परराष्ट्रमन्त्री खनालले विपद्को समयमा अस्ट्रेलिया सरकार र अस्ट्रेलियाली जनताबाट प्राप्त मानवीय सहयोगप्रति आभार व्यक्त गर्दै यस्तो सहयोगले दुई देशबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई थप बलियो बनाएको बताए।
भेटवार्तामा जलवायु परिवर्तनका कारण नेपाल र प्रशान्त क्षेत्रका मुलुकले भोगिरहेका साझा जोखिमबारे पनि छलफल भएको थियो। खनालले आगामी कोप–३१ मा हिमाली पारिस्थितिक प्रणालीमा जलवायु परिवर्तनले पारेको गम्भीर प्रभावलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउन अस्ट्रेलियाको सहयोग अपेक्षा गरेका छन्।
नेपालले जलवायु अनुकूलन, पूर्वसूचना प्रणाली, विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा जलवायु–उत्थानशील पूर्वाधार निर्माणका क्षेत्रमा अस्ट्रेलियासँग सहकार्य थप विस्तार गर्नुपर्नेमा जोड दिएको छ।
दुई देशबीचको सम्बन्धमा शिक्षालाई पनि नयाँ सम्भावनाको क्षेत्रका रूपमा अघि सारिएको छ। नेपालमा अस्ट्रेलियाबाट मान्यता प्राप्त प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम संस्था स्थापना गर्ने र अस्ट्रेलियाली विश्वविद्यालयका सम्भावित स्याटेलाइट क्याम्पस नेपालमा खोल्ने विषयमा छलफल भएको छ।
परराष्ट्रमन्त्री खनालले अस्ट्रेलियाको समाज र अर्थतन्त्रमा नेपाली विद्यार्थी तथा नेपाली डायस्पोराले पुर्याउँदै आएको योगदानको चर्चा गर्दै विद्यार्थी भिसासम्बन्धी पछिल्ला नीतिगत परिवर्तनका क्रममा वास्तविक र योग्य नेपाली विद्यार्थीका लागि न्यायोचित व्यवस्था गर्न आग्रह गरेका छन्।
त्यसैगरी व्यापार, प्रत्यक्ष वैदेशिक लगानी, प्रविधि हस्तान्तरण, नवीकरणीय ऊर्जा, दिगो कृषि, पर्यटन प्रवर्द्धन र श्रम गतिशीलतालगायत क्षेत्रमा आर्थिक साझेदारी विस्तार गर्ने सम्भावनाबारे पनि दुवै पक्षबीच विचार आदानप्रदान भएको छ।
नेपाल र अस्ट्रेलियाबीच सिधा हवाई सम्पर्क स्थापना गर्ने विषयले पनि भेटवार्तामा स्थान पाएको छ। प्रत्यक्ष हवाई सम्पर्क स्थापना हुन सके पर्यटन, व्यापार, लगानी र जनस्तरको सम्बन्ध विस्तारमा थप सहजता आउने अपेक्षा गरिएको छ।
भेटवार्ताले नेपाल–अस्ट्रेलिया सम्बन्धलाई परम्परागत विकास सहायता र शैक्षिक सहकार्यबाट आर्थिक, जलवायु र रणनीतिक साझेदारीतर्फ विस्तार गर्ने सम्भावना देखाएको छ। विदेशमन्त्री वङले नेपालसँगको साझेदारीलाई अझ सुदृढ बनाउँदै प्राथमिकताका क्षेत्रमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
दुवै पक्षले नियमित उच्चस्तरीय आदानप्रदानलाई निरन्तरता दिने र भेटवार्तामा भएका समझदारीलाई ठोस उपलब्धिमा रूपान्तरण गर्न निकट सहकार्य गर्ने सहमति जनाएका छन्।


प्रतिक्रिया दिनुहोस्