काठमाडौं । राष्ट्रिय सभाबाट गठित भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका सभापति कृष्णप्रसाद पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बिहीबार सिंहदरबारमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पौडेललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो। शपथ ग्रहणलगत्तै समितिको पहिलो बैठकसमेत बसेको छ।
बैठकमा समितिका सभापति पौडेलले समितिको कामलाई प्रभावकारी बनाउन सचिवालयको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। उहाँले समितिले अपेक्षित नतिजा हासिल गर्न सचिवालय चुस्त, दुरुस्त र सक्रिय हुनुपर्नेमा जोड दिए।
सचिवालयलाई आवश्यक स्रोत, साधन र जनशक्तिको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै पौडेलले कर्मचारीलाई उच्च व्यावसायिकता, समर्पण र जिम्मेवारीका साथ काम गर्न निर्देशन दिए।
‘रिजल्ट सहजै आउने भनेको सचिवालयकै तर्फबाट हो। कामको संवेदनशीलतालाई ध्यानमा राखेर सचिवालय अत्यन्तै प्रतिस्पर्धी जनशक्ति र आवश्यक स्रोतसाधनसहित चुस्त, दुरुस्त र स्फूर्त हुनुपर्छ,’ उनले भने, ‘सचिव र सहसचिवलगायत प्रशासनिक नेतृत्वप्रति मेरो ठूलो आशा, विश्वास र भरोसा छ। सचिवालयले जति समर्पण र मेहनत गर्छ, त्यहीअनुसारको परिणाम आउनेछ।’
समितिले गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको क्षति तथा त्यससँग सम्बन्धित सरकारी तयारी र उद्धार कार्यको अध्ययन तथा अनुगमन गर्नेछ।
बाढीबाट रसुवा, नुवाकोट र धादिङसहित गोरखा, चितवन तथा नवलपुरमा समेत ठूलो क्षति भएको थियो। समितिले विपद् जोखिम न्यूनीकरणका लागि गरिएको पूर्वतयारी, जनधनको क्षति, बेपत्ता तथा प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा क्षतिपूर्ति, घाइतेको उपचार, शव व्यवस्थापन र पुनःस्थापनालगायतका विषयमा अध्ययन तथा समीक्षा गर्नेछ।
समितिमा सभापति पौडेलसहित गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्णप्रसाद अधिकारी, सम्झना देवकोटा, सोमनाथ पोर्तेल, पूजा चौधरी र तुलप्रसाद विश्वकर्मा सदस्य छन्।
समितिको प्रस्तावित कार्यावधि २०८३ साल पुस मसान्तसम्म रहनेछ।
भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएको विपद् र त्यसबाट उत्पन्न मानवीय तथा भौतिक क्षतिको अध्ययन गर्न प्रतिनिधिसभाले यसअघि नै संसदीय विशेष समिति गठन गरिसकेको छ। प्रतिनिधिसभाले समिति बनाएर काम अघि बढाएपछि राष्ट्रिय सभाले पनि छुट्टै संसदीय विशेष समिति गठन गरेको हो।


प्रतिक्रिया दिनुहोस्