‘क्यान महासंघलाई व्यक्तिगत स्वार्थपूर्तिको माध्यम बनाउन खोजियाे’


काठमाडौँ। कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले संस्थाको विधान, निर्णय प्रक्रिया, संस्थागत मर्यादा र प्रशासनिक संरचनामाथि हस्तक्षेप भएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ।

महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा सूचना प्रविधि क्षेत्रको साझा संस्थालाई व्यक्तिगत स्वार्थपूर्तिको माध्यम बनाउन खोजिएको आरोप लगाइएको छ।

महासचिव चन्द्र बिलास भुर्तेल र पूर्वअध्यक्ष नवराज कुँवरले विधान तथा संस्थागत निर्णय प्रक्रियाविपरीत गतिविधि गरेकाे जनाइएकाे छ । यसले महासंघको नियमित कामकारबाही, आधिकारिक सञ्चार प्रणाली र स्वायत्तताामाथि गम्भीर असर पारेको महासंघले जनाएको छ।

महासंघका अनुसार विधानले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थामा प्रतिनिधि पठाउने अधिकार अध्यक्ष र केन्द्रीय कार्यसमितिमा निहित भएपनि केन्द्रीय कार्यसमितिको निर्णय र जानकारीबिना महासचिव भुर्तेलले २०८३ साउन १९ गतेको पत्रका आधारमा भदौ २ गते महासंघको संस्थागत इमेल प्रयोग गरी एसाेशियाेको उपाध्यक्ष पदका लागि कुँवरको नाम सिफारिस गरिएकाे छ। महासंघले यसलाई संस्थागत पद्धतिको गम्भीर उल्लङ्घनका रूपमा लिएको छ।

विज्ञप्तिमा भदौ ४ गते बसेको पदाधिकारी बैठकमा प्रश्न उठेपछि पनि समस्या समाधानका लागि संस्थागत प्रक्रिया अघि बढाउनुको सट्टा भदौ ५ गतेका लागि तोकिएको केन्द्रीय कार्यसमिति बैठक प्रभावित हुने गरी सचिवालय बन्द गरिएको आरोप लगाइएकाे छ।

महासंघको आधिकारिक इमेलको पासवर्ड परिवर्तन गरी त्यसमा एकलौटी नियन्त्रण कायम गरिएको विषय पनि गम्भीर रूपमा उठेको उल्लेख छ।

आधिकारिक छाप, दर्ता तथा चलानी किताबसमेत आफ्नो नियन्त्रणमा राखिएकाले संस्थाको नियमित प्रशासनिक कामकारबाहीमा अवरोध सिर्जना भएको महासंघको भनाइ छ। क्यान महासंघ कुनै व्यक्तिको निजी सम्पत्ति नभई विधि, विधान र सामूहिक निर्णयबाट सञ्चालन हुने साझा संस्था भएको स्पष्ट पारिएको छ।

महासंघले आधिकारिक निर्णय प्रक्रिया पूरा नभइसकेको अवस्थामा जाकार्ताबाट महासंघको लेटरप्याड र छाप प्रयोग गरी विज्ञप्ति जारी गरिएको विषयलाई पनि गम्भीरतापूर्वक लिएको जनाएको छ।

संस्थाको लेटरप्याड, छाप तथा अन्य स्रोतको व्यक्तिगत वा अनधिकृत गतिविधिमा प्रयोग हुनु संस्थाको मर्यादा, विश्वसनीयता र आधिकारिकतामाथिको गम्भीर प्रश्न भएको उल्लेख गरिएकाे छ । महासंघको नाम र आधिकारिक पहिचान प्रयोग गरी सदस्य तथा सरोकारवालाबीच भ्रम सिर्जना गर्ने कुनै पनि गतिविधि स्वीकार नगरिने उल्लेख छ।

एसाेशियाे प्रतिनिधित्वबारे महासंघले आफ्नो आधिकारिक निर्णय सार्वजनिक गरेको छ। कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीको अध्यक्षतामा बसेको विधिसम्मत बैठकले एसाेशियाेमा आधिकारिक प्रतिनिधि पठाउने निर्णय गरिसकेको स्पष्ट पारेको छ।

विधान र संस्थागत निर्णयलाई बेवास्ता गरी गरिएको कुनै पनि प्रतिनिधित्वलाई महासंघले आधिकारिक रूपमा स्वीकार नगर्ने जनाएको छ। संस्थागत प्रक्रिया पूरा नगरी एसाेशियाेको साधारण सभामा सहभागी हुने तथा उपाध्यक्ष पदमा निर्वाचित भएको दाबी गर्ने कार्यले महासंघको आधिकारिक निर्णय प्रक्रियालाई चुनौती दिएको विज्ञप्तिमा उल्लेख छ।

यस्तै, महासंघका आधिकारिक इमेल, लेटरप्याड, छाप तथा संस्थागत स्रोतको प्रयोगसँग सम्बन्धित घटनाक्रमबारे आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको महासंघले जनाएको छ।

यस सम्बन्धमा नेपाल प्रहरीको साइबर ब्युरो तथा जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा आधिकारिक उजुरी दर्ता भइसकेको जानकारी गराइएको छ। महासंघको अस्तित्व, स्वायत्तता, सम्पत्ति, दस्तावेज, आधिकारिक सञ्चार प्रणाली र वैधानिक निर्णय प्रक्रियामाथि हुने कुनै पनि हस्तक्षेपविरुद्ध प्रचलित कानुन र विधानअनुसार कानुनी तथा संस्थागत कारबाही अगाडि बढाइने भनाइ छ।

महासंघले आफ्ना सम्पूर्ण सदस्य, प्रदेश तथा जिल्ला शाखा, सम्बद्ध संस्था, सूचना प्रविधि क्षेत्रका सरोकारवाला र आम शुभेच्छुकलाई अनधिकृत तथा भ्रमपूर्ण प्रचारप्रसारको पछि नलाग्न अपिल गरेको छ।

महासंघको आधिकारिक निर्णय, सूचना र धारणा वैधानिक निकाय र आधिकारिक सञ्चार माध्यमबाट मात्र सार्वजनिक हुने पनि स्पष्ट पारेको छ। क्यान महासंघ कुनै व्यक्ति विशेषको स्वार्थ, नियन्त्रण वा महत्वाकांक्षा पूरा गर्ने संस्था नभई नेपालको सूचना प्रविधि क्षेत्रको साझा प्रतिनिधिमूलक संस्था भएको विज्ञप्तिमा उल्लेख छ।

कार्यवाहक अध्यक्ष अधिकारीले महासंघको विधान, संस्थागत मर्यादा, सामूहिक निर्णय प्रणाली, स्वायत्तता र अस्तित्वको संरक्षणका लागि आवश्यक सबै कदम चाल्न महासंघ प्रतिबद्ध रहेको जनाएका छन्। महासंघलाई कमजोर बनाउने, संस्थागत संरचनालाई बन्धक बनाउने वा व्यक्तिगत स्वार्थअनुसार सञ्चालन गर्ने कुनै पनि प्रयासको संस्थागत रूपमा प्रतिरोध गरिने उनले बताएका छन्।