पोखरामा स्कुल बस दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो


काठमाडौँ । कास्कीको पोखरामा भएको कालिका बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर २८ स्थित माझठानाबाट कालिका बोर्डिङ स्कुलका लागि विद्यार्थी बोकेर आउँदै गरेको ग २ ख १४१७ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी नवीन कार्कीले बताए ।

बस ओख्लेमा सडकबाट करिब १ सय ५० देखि २०० मिटर तल भीरमा खसेको थियो। दुर्घटनामा अन्य घाइतेहरूको उद्धार तथा उपचार जारी रहेको कास्की प्रहरीले जनाएको छ।

हालसम्म मृत्यु भएका कसैको पनि पहिचान खुल्न सकेको छैन। उद्धार कार्य सम्पन्न भएपछि मात्रै मृतकहरूको सनाखततर्फ लाग्ने कास्की प्रहरी प्रमुख कार्कीले बताए।

विजयपुर सैनिक ब्यारेकबाट केही उत्तरतर्फ माझथाना नजिक भएको उक्त दुर्घटनालगत्तै प्रहरी र स्थानीयको टोली उद्धारमा खटिएका थिए। दुर्घटनामा परी घाइते भएका १८ जनाको उद्धार गरी उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगायतका अस्पतालहरूमा पठाइएको कास्की प्रहरीका सूचना अधिकारी वीरेन्द्र पासवानले जानकारी दिए।

पासवानका अनुसार उद्धार गरिएकामध्ये १६ जना अस्पताल पुगिसकेका छन्। बाँकी २ जनालाई अस्पताल लैजाने काम भइरहेको छ।

दुर्घटनाग्रस्त बसमा कति विद्यार्थी सवार थिए भन्ने यकिन संख्या अझै खुल्न सकेको छैन। घटनाको बारेमा थप विवरण आउन बाँकी छ ।