बीमा प्राधिकरणले सोध्यो नेपाल लाइफका सिइओ पराजुलीलाई स्पष्टिकरण


काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रविण रमण पराजुलीलाई नेपाल बीमा प्राधिकरणले ‘झूठो तथ्य’ सार्वजनिक गरेको भन्दै स्पष्टिकरण माग गरेको छ ।

बीमा व्यवसायबारे ‘भ्रामक जानकारी सार्वजनिक गरेको’ भन्दै प्राधिकरणले सिइओ पराजुलीसँग स्पष्टिकरण मागरेको हो ।

सिइओ पराजुलीले कम्पनीको आधिकारिक सामाजिक सञ्जालमार्फत् बीमा दाबी सम्बन्धमा भ्रामक तथ्याङ्क सार्वजनिक गरेकाले स्पष्टिकरण मागरिएको प्राधिकरण स्रोतले जनाएको छ । स्रोतले भन्यो,“हामीले उहाँले बोलेको विषयमा तीन दिनभित्र जवाफ पेश गर्न भनेर बुधबार नै पत्र काटिसकेका छौँ ।”

सिइओ पराजुलीले केही दिनअघि मात्रै कम्पनीले २५ वर्षको इतिहासमा १२२ खर्ब रूपैयाँ बीमितलाई भुक्तानी दिएको भनेका थिए । झुन भ्रामक तथ्याङ्कसहित झूठो दाबी थियो ।

उनले भनेका थिए,“नमस्ते नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड संस्थाको आफ्ना बीमितहरू प्रतिको कमिटमेन्टलाई आजको दिनसम्मको २५ वर्षको इतिहासमा १२२ खर्बको ‘पेआउट’गरेर पुरा गरेको छ ।”

उक्त तथ्याङ्क गलत भएको देखिएपछि स्पष्टीकरण सोधिएको प्राधिकरण स्रोतको भनाई छ । कम्पनीले भिडियो भने हटाइसकेको छ ।

सिइओ पराजुलीलाई लिखित जवाफ पेश गर्न भनिएको छ । बीमा अभिकर्ता सङ्घबिच भेदभाव गरेको भन्दै पराजुली विवादमा छन् ।

नेपाल लाइफको वर्तमान सञ्चालक समितिको वैधानिकताको विषयमा भने प्राधिकरणले छानबिनमा ढिलाई गरिरहेको छ ।