कारागार सरुवापछि झस्कियो व्यवसायी भट्टको परिवार,मानव अधिकार आयोगदेखि विभागसम्म निवेदन दर्ता



काठमाडौँ । विभिन्न मुद्दामा कारागारमा रहेका व्यवसायी दीपक भट्टलाई आचारण सामान्य हुँदा पनि मुद्दा नै नभएको जिल्लामा पठाइएको भन्दै परिवार झस्किएको छ ।

परिवारले यो विषय सामान्य अदालती प्रक्रिया मात्रै नभएको निष्कर्षसहित राष्ट्रिय मानवअधिकार आयोग र कारागार व्यवस्थापन विभागमा निवेदन दर्ता गराएको छ ।

दीपकका बुवा चर्तुभुज भट्टले शुक्रबार राष्ट्रिय मानवअधिकार आयोगमा दर्ता गराएको निवेदनमा भनिएको छ,“मुद्दा नै दायर नभएको जिल्लास्थित कारागारमा गरिएको उक्त सरुवाले सरुवाको औचित्य, आवश्यकता र त्यसको आधारबारे गम्भीर प्रश्न खडा गरेको छ । यसबाट विचाराधीन मुद्दाको न्यायिक प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्ने तथा परिवारले भोग्नु परेको मानसिक पीडा थप बढ्ने अवस्था सिर्जना भएको छ ।”

उनले दीपकविरुद्धका मुद्दाहरू काठमाडौं जिल्ला अदालत, विशेष अदालत तथा उच्च अदालत पाटनमा विचाराधीन रहेका र न्यायिक प्रक्रिया जारी रहेको अवस्थामा सरुवाको आधार, कारण र निर्णय प्रक्रियाबारे कुनै जानकारी नै नदिएको समेत उल्लेख गरेका छन् ।

पूर्वप्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरासँग सम्पर्क रहेको भन्दै दीपकलाई नख्खु कारागारबाट सिन्धुपाल्चोक सरुवा गरिएको थियो । यसमा पनि उनका बुवाले आपत्ति जनाएका छन् ।

निवेदनमा भनिएको छ,“विशेषगरी पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग फोन सम्पर्क गरी विचाराधीन मुद्दामा चलखेल गर्न अनुरोध गरेको भन्ने विषयमा प्रकाशित समाचारप्रति मेरो गम्भीर आपत्ति छ । पुर्पक्षका लागि थुनामा रहेका व्यक्तिले गर्दै नगरेको कार्यलाई सत्य जस्तो बनाई प्रकाशन गरिएको सामाग्रीले निजको प्रतिष्ठामा मात्रै आघात पुर्‍याइएको छैन्,सम्मानित न्यायलयबाट न्याय पाउने अधिकारमा समेत अवरोध सिर्जना गरेको छ ।”

यस विषयमा दीपकका बुवाले कारागार व्यवस्था विभागमा समेत यथार्थ विवरण माग गर्दै निवेदन दर्ता गरेको बताएका छन् ।

उनले भनेका छन्,“मेरो छोरा दीपक भट्टलाई नख्खु कारागारबाट सिन्धुपाल्चोक कारागारमा सार्नुको आधार र कारण तथा निज नख्खु कारागारमा हुँदाको आचरणका विषयमा समेत जानकारी माग गर्दै नख्खु कारागार तथा कारागार व्यवस्था विभागमा समेत निवेदन दर्ता गरेको छु । हालसम्म कुनै जानकारी प्राप्त भएको छैन ।

आयोगलाई बुझाइएको निवेदनमा सत्यतथ्य छानविन गर्न, कारागार सरुवाको निर्णय, आधार, कारण तथा सम्बन्धित कागजातहरूको अध्ययन गर्न, आवश्यकताअनुसार स्थलगत अनुगमन गर्न आग्रह गरिएको छ ।

निवेदनमा भनिएको छ,“मेरो छोराको मानव अधिकार तथा संविधान प्रदत्त मौलिक हकको संरक्षणका लागि आवश्यक पहल गर्न अनुरोध गरेको छु। साथै, कारागार सरुवाको औचित्यसमेत विचार गरी निजलाई नख्खु कारागारमा फिर्ता ल्याउन सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिन माग गरेको छु ।”

उनले आफूले कुनै पनि निकायको निष्पक्ष अनुसन्धान वा न्यायिक प्रक्रियामा अवरोध गर्न नचाहेको तर दीपकको मानव अधिकार र मौलिक हकको संरक्षण खोजेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्,“म कुनै पनि निकायको निष्पक्ष अनुसन्धान वा न्यायिक प्रक्रियामा अवरोध चाहन्नँ । मैले केवल सत्यतथ्यको निष्पक्ष छानविन, कानुनी प्रक्रियाको सम्मान, भ्रामक समाचारबाट हुने चरित्रहत्या रोकथाम तथा मेरो छोरा दीपक भट्टको मानव अधिकार र मौलिक हकको संरक्षणका लागि निवेदन दिएको हुँ ।”

भट्टलाई असोज १७ गते सिन्धुपाल्चोक पुराइएको छ । दीपक विरुद्ध विरुद्धका मुद्दाहरू काठमाडौं जिल्ला अदालत, विशेष अदालत तथा उच्च अदालत पाटनमा विचाराधीन रहेका छन् ।

कारागारले आचारण ‘सामान्य’ लेखेर कारागार सरुवा गरेको थियो । आचरण सामान्य हुँदा पनि सरुवा गरेको विषय परिवारले उठाएको छ । पारिवारिक स्रोतका अनुसार दीपकले दाई र औषधोउपचार हेरिरहेका एकजना काकासँग बाहेक कसैसँग फोन सम्पर्क गर्ने गरेका थिएनन् ।

कारागारभित्र पनि धेरैजसो समय शान्त रहने गर्दथे । कारागार सरुवा गर्दा पनि उनको आचरणमा ‘समान्य’ भनेर लेखिएको छ । एकाएक पूर्वप्रधानन्यायाधीस राणा सम्पर्क गरेको र सत्ता हेरफेरमा गागेको जस्तो अरोप बाहिर आएपछि परिवारले विषय अदालतीमात्रै नभएर दीपकमाथि ‘थप षडयन्त्र’ भइरहेको आशङ्कासहित राष्ट्रिय मानवअधिकार आयोग गुहारेको छ भने यथार्त विवरण सार्वजनिक गर्न माग गर्दै कारागार व्यवस्थापन विभागमा निवेदन दिएको हो ।

बुवा चतुर्भुज भट्टले भने,“मेरो छोरा दीपक भट्ट विगत छ महिनादेखि विभिन्न कारागारमा थुनुवाका रूपमा राखिएको छ । उनलाई के कारणले थुनामा राखिएको हो भन्नेबारे अहिलेसम्म कुनै जानकारी दिइएको छैन । बिना कारण एक ठाउँबाट अर्को ठाउँमा सरुवा गर्दै ल्याइएको छ । अहिले मिडिया ट्रायल गराएर बिना कारण असम्बन्धित व्यक्तिहरू, पूर्वप्रधानन्यायाधीशलगायत अन्य व्यक्तिसँग पनि जोडेर मेरो छोरालाई मात्रै प्रताडित गर्ने, दुःख दिने र बदनाम गर्ने हिसाबले प्रचार गरिएको छ ।”