काठमाडौं । खानामा किरा परेको उजुरीपछि काठमाडौंको महाराजगञ्जस्थित मन्त्र थकालीमा अनुगमन गर्दा खाद्य स्वच्छतासम्बन्धी कैफियत भेटिएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको नेतृत्वमा गरिएको संयुक्त अनुगमनका क्रममा कैफियत भेटिएपछि उक्त खाद्य व्यवसायलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।
विभागका अनुसार २०८३ असोज २४ गते फोनमार्फत प्राप्त उजुरीका आधारमा विभागको र्यापिड रेस्पोन्स टिम (आरआरटी) ले तत्काल अनुगमन गरेको थियो। अनुगमनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसमेत सहभागी थियो।
अनुगमनका क्रममा भान्सा कोठाको सरसफाइ सन्तोषजनक नरहेको, पकाइएका खाद्य पदार्थ नछोपी भण्डारण गरिएको तथा फ्रिज र भान्सा कोठामा साङ्ला र भुसुनाजस्ता कीरा देखिएको पाइएको विभागले जनाएको छ।
त्यस्तै, भान्साको ड्रेनेजको सरसफाइ कमजोर रहेको, फ्रिजमा खाद्य वस्तु अव्यवस्थित रूपमा राखिएको, डस्टबिन खुला छाडिएको र फोहोर रहेको पाइएको छ। पकाइएको फ्राइड आलु मसीजन्य कागज अर्थात् पत्रिकामा भण्डारण गरिएकोसमेत भेटिएको थियो।
उक्त कैफियतका आधारमा उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम २ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ। साथै, पत्रिकामा भण्डारण गरिएको करिब एक किलो फ्राइड आलु नष्ट गरिएको छ।
विभागले पकाइएका खाद्य पदार्थ राम्ररी छोपेर राख्न, कीरा नियन्त्रणको व्यवस्था प्रभावकारी बनाउन, सरसफाइमा विशेष ध्यान दिन तथा फ्रिज र भान्साकोठामा खाद्य पदार्थ व्यवस्थित रूपमा भण्डारण गर्न निर्देशन दिएको छ।
अनुगमनका क्रममा देखिएका कैफियत सुधार गरी त्यसको प्रमाणसहित सात दिनभित्र विभागमा उपस्थित हुनसमेत निर्देशन दिइएको छ। तोकिएको निर्देशनअनुसार सुधार नगरेमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम थप कारबाही गरिने विभागले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्