गोरखाको बूढीगण्डकीमा आकस्मिक बाढी, आरुघाटसम्म जोखिम


काठमाडौं । गोरखाको चुमनुम्ब्री गाउँपालिका–६ स्थित चुम्चेत क्षेत्रमा आइतबार बिहान आएको आकस्मिक बाढीले बूढीगण्डकी नदीको तटीय क्षेत्रमा जोखिम बढाएको छ ।

बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै बाढी पूर्वानुमान महाशाखाले त्रिशूली दोभानसम्मका नदी किनारमा नजान र सुरक्षित उच्च स्थानमा बस्न आग्रह गरेको छ ।

चुम्केको खोलामा पहिरो खसेर पानी थुनिएपछि बाढी आएको बताइन्छ । बाढी लेदो र गेग्रानसहित बूढीगण्डकी नदीमा मिसिएको छ । बाढीको कारण र अवस्थाबारे थप विवरण प्राप्त हुन बाँकी रहेको जनाइएको छ ।

प्रारम्भिक अनुमानअनुसार माथिल्लो क्षेत्रमा पहिरो खसेर नदीको बहाव रोकिएको र पछि थुनिएको पानी एक्कासि बगेको तस्बिर र भिडियाे सार्वजनिक भएका छन् । बाढीका कारण नदी थुनिने र खुल्ने क्रम रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएकाे छ ।

बाढीले तल्लो तटीय क्षेत्रका बस्तीमा क्षति पुर्‍याउन सक्ने जोखिम छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सिर्दिबास, जगत, यारी, तातोपानी, माछीखोला, सोती, आरुखेत र आरुघाट क्षेत्रका बासिन्दा विशेष सतर्क रहनुपर्नेछ ।

बाढी पूर्वानुमान महाशाखाका बाढीविज्ञ विनोद पराजुलीका अनुसार बाढी आरुघाटसम्म आइपुग्न करिब तीन घण्टा लाग्ने अनुमान गरिएको छ । सोही आधारमा तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन एसएमएसमार्फत सूचना पठाइएको छ ।

बाढीको जोखिमका कारण केही स्थानीय बासिन्दा सुरक्षित स्थानतर्फ सरेका छन् । घटनास्थलको अवस्था बुझ्न नेपाली सेनाको हेलिकप्टर परिचालन गर्ने तयारी भइरहेको छ । प्रारम्भिक जानकारीअनुसार बाढीबाट भएको मानवीय क्षतिको विवरण प्राप्त भएको छैन ।