यी हुन् दबन्दीभन्दा बढी जग्गा खरिद गर्ने १०४ संघसंस्था तथा कम्पनी, लाखौं वर्गमिटर जग्गा स्वामित्वमा (सूचीसहित)


काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न समयमा कानुनी स्वीकृति लिएर हदबन्दीभन्दा बढी जग्गा खरिद गरेका संघसंस्था तथा कम्पनीहरूको विवरण सार्वजनिक गरेको छ ।

मन्त्रालयले सार्वजनिक गरेको सूचीमा जलविद्युत्, चिया उद्योग, सिमेन्ट उद्योग, हाउजिङ, शिक्षा, कृषि तथा पर्यटन क्षेत्रसँग सम्बन्धित १०४ कम्पनी तथा संस्थाको नाम समावेश गरिएको छ ।

मन्त्रालयका अनुसार सूचीमा समावेश कम्पनी तथा संस्थाहरूले कानुनी प्रक्रिया पूरा गरी हदबन्दीभन्दा बढी जग्गा खरिद गरेका हुन् । विवरण अनुसार सबैभन्दा बढी जग्गा गिरी बन्धु टि स्टेट प्रा.लि.को नाममा रहेको देखिएको छ । उक्त कम्पनीसँग झापामा १८ लाख ६ हजार ८ सय ७८ वर्गमिटर जग्गा रहेको उल्लेख गरिएको छ ।

त्यस्तै एस जेभीएन लोवर तल्लो अरुण पावर डेभलपमेन्ट प्रा.लि.सँग संखुवासभामा १० लाख ७९ हजार ६ सय ९७.७ वर्गमिटर, गिजरा खाडखारी मिल प्रा.लि.सँग बाँकेमा १२ लाख १९ हजार ७३ वर्गमिटर तथा राज टि स्टेटसँग झापामा ९ लाख ७८ हजार १ सय ५०.७ वर्गमिटर जग्गा रहेको विवरणमा उल्लेख छ ।

सूचीमा चिया उद्योगको उल्लेख्य उपस्थिति देखिएको छ । झापा, इलाम, पाँचथर र धनकुटाका विभिन्न चिया बगान तथा टि स्टेटहरूले ठूलो परिमाणमा जग्गा स्वामित्वमा राखेका छन्। झापा टि स्टेट, नक्कलवन्दा टि स्टेट, पदम टि स्टेट, ज्यामिरगढी टि स्टेट लगायतका कम्पनीहरू प्रमुख छन् ।

यस्तै जलविद्युत् क्षेत्रमा कार्यरत अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी, सान्जेन जलविद्युत् कम्पनी, ग्रिन भेन्चर्स, कावेली इनर्जी र लिबर्टी इनर्जी हाइड्रोपावरसहितका कम्पनीहरूले पनि स्वीकृति लिएर जग्गा खरिद गरेको विवरणमा उल्लेख छ।

काठमाडौँ उपत्यकामा हाउजिङ तथा रियल स्टेट क्षेत्रमा संलग्न उपहार हाउजिङ कम्पनी, कोहिनूर हिल हाउजिङ, होमल्याण्ड हाउजिङ, टचउड हाउजिङ, सिद्धार्थ हाउजिङलगायत कम्पनीहरू सूचीमा परेका छन्।

मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार हदबन्दीभन्दा बढी स्वीकृति लिएर खरिद गरिएको जग्गाको कुल क्षेत्रफल १ करोड ९२ लाख ४० हजार ३ सय २६.७२ वर्गमिटर पुगेको छ । साथै मन्त्रालयले यो विवरण क्रमशः अद्यावधिक गरिँदै जाने जनाएको छ।

हेर्नु्हाेस सूची :