अमेरिकाका लागि प्रस्तावित राजदुत चिरनजंग थापाद्वारा ‘आर्थिक कुटनीति’लाई प्राथमिकतामा राख्ने प्रतिवद्धता


काठमाडाैँ । संयुक्त राज्य अमेरिकाका लागि नेपाल सरकारद्वारा प्रश्तावित राजदुत चिरनजंग थापाले नेपाल–अमेरिका सम्बन्धलाई आर्थिक समृद्धि र कुटनीतिक समन्वयको माध्यम बनाउँदै नेपाली नागरिकको सुरक्षा र हितमा केन्द्रित हुने प्रतिवद्धता व्यक्त गरेका छन् । 

सोमबार संसदीय सुनुवाई समितिसमक्ष आफ्नो कार्यकालका लागि कुटनीतिक कार्ययोजना प्रश्तुत गर्दै यस्तो प्रतिवद्धता जनाएका हुन् । थापाले नेपालको परराष्ट्र नीतिका लक्ष्यहरू हासिल गर्न आर्थिक कुटनीतिलाई प्रमुख औजारका रूपमा प्रयोग गर्ने बताए ।

उनले नेपाल र अमेरिकाबिचको ८० वर्षको मैत्रीपूर्ण सम्बन्धलाई आधार मानेर उच्चस्तरीय भ्रमण आदानप्रदान र लगानी भित्र्याउन सक्रिय पहल गर्ने योजना सुनाए ।

आफ्नो कुटनीतिक यात्राको चर्चा गर्दै थापाले २५ वर्षअघि सोही दूतावासमा इन्टर्नका रूपमा काम गर्दा देखेको सपना हाल पूरा हुने चरणमा रहेको स्मरण गरे । 

कार्ययोजनामा उनले राहदानीको प्रभावकारिता बढाउने, नेपाली सुरक्षा निकायहरू (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी) को क्षमता अभिवृद्धि गर्ने र ‘इन्सार्याग’ को सदस्यता नेपालका लागि सुनिश्चित गर्ने विषयलाई विशेष प्राथमिकतामा राखेका छन् ।

अमेरिकामा रहेका नेपालीहरूको सुरक्षा र हितका लागि दुतावासबाट विशेष पहल गर्ने उनको भनाइ छ ।