चितवन । नेपाल होस्टल एसोेसिएसनका केन्द्रीय अध्यक्ष नरेन्द्रबहादुर बाेहराले होस्टल व्यवसायलाई व्यवस्थित, मर्यादित तथा व्यावसायिक बनाउन संस्थागत एकता र आपसी सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन् ।
नेपाल होस्टल एशोसिएसन चितवनको १२औँ साधारण सभा तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई चितवनमा सम्बोधन गर्दै अध्यक्ष बोहोराले होस्टल व्यवसायीहरूले भोगिरहेका समस्या समाधान गर्न सम्बन्धित सरकारी निकाय तथा सरोकारवाला संस्थासँग समन्वय र सहकार्य गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।
अध्यक्ष बोहराले चितवन जिल्लाभित्र सञ्चालित होस्टलहरूलाई व्यवस्थित बनाउन आवश्यक होस्टल सञ्चालन मापदण्डको कार्यान्वयनमा जिल्ला कार्यसमितिलाई आवश्यक सहयोग, समन्वय तथा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने,“होस्टल व्यवसायको गुणस्तर अभिवृद्धि, विद्यार्थीको हित संरक्षण तथा व्यवसायीका जायज समस्याको समाधानका लागि एसोसिएसनले निरन्तर पहल गर्नेछ ।”
कार्यक्रमका विशिष्ट अतिथि चितवन उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले होस्टल व्यवसायलाई व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकतामा जोड दिए ।
उनले होस्टल क्षेत्रको विकास तथा व्यवसायीका समस्या समाधानका लागि सम्बन्धित निकायबिच सहकार्य र समन्वय महत्त्वपूर्ण हुने धारणा व्यक्त गरे ।
नेपाल होस्टल एशोसिएसन, चितवन जिल्ला कार्यसमितिका अध्यक्ष आरती गोपाल मूर्ति शाहले जिल्लाभित्र सञ्चालनमा रहेका सम्पूर्ण होस्टल व्यवसायीलाई प्रचलित नियम, मापदण्ड तथा आवश्यक प्रक्रिया पालना गर्दै आफ्नो व्यवसाय व्यवस्थित, सुरक्षित र मर्यादित रूपमा सञ्चालन गर्न आह्वान गरिन् ।
उनले भनिन्,“जिल्ला कार्यसमिति होस्टल व्यवसायीका साझा समस्या समाधान, व्यवसायको गुणस्तर अभिवृद्धि तथा संस्थागत एकता मजबुत बनाउन हामी प्रतिबद्ध छौँ ।”
नेपाल होस्टल एसोसिएसनले देशभरका होस्टल व्यवसायलाई व्यवस्थित, मर्यादित र व्यावसायिक बनाउँदै व्यवसायी तथा विद्यार्थी दुवैको हित संरक्षण गर्ने उद्देश्यसहित विभिन्न कार्यक्रम, समन्वय तथा सहजीकरणका कार्यलाई निरन्तरता दिँदै आएको छ ।
भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासङ्घले गरेको सहयोग आह्वानलाई आत्मसात् गर्दै नेपाल होस्टल एशोसिएसन, चितवन जिल्ला कार्यसमितिले चितवन उद्योग वाणिज्य सङ्घमार्फत राहतका लागि रु. ५० हजार सहयोग उपलब्ध गराएकोमा केन्द्रीय अध्यक्ष बोहराले जिल्ला कार्यसमितिप्रति धन्यवाद तथा आभार व्यक्त गरे । उनले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै विपद्का समयमा पीडित नागरिकलाई सहयोग पुर्याउने कार्य प्रशंसनीय रहेको बताए ।


प्रतिक्रिया दिनुहोस्