प्रस्तावित राजदुत कर्णलाई सांसद विष्टको प्रश्नः इजरायलको कृषि प्रविधि नेपाल भित्र्याउन तपाईंको भुमिका के ?


काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद नरबहादुर विष्टले नेपालको कृषि क्षेत्रको आधुनिकीकरण र इजरायली प्रविधि भित्र्याउन इजरायलका लागि प्रस्तावित राजदुत सुरेशकुमार कर्णसँग के योजना छ भन्दै जिज्ञासा राखेका छन् । 

मंगलबार बसेको समितिको बैठकमा सांसद विष्टले इजरायलको कृषि मोडेललाई नेपालमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा राजदुतको योजनाबारे प्रश्न उठाएका हुन्।

सांसद विष्टले इजरायलको मरुभूमिमा गरिने कृषि अभ्यासको प्रशंसा गर्दै उक्त प्रविधि नेपालको हिमाली र पहाडी भेगमा प्रयोग गर्नसके मुलुकको आर्थिक समृद्धि सम्भव रहेको बताए ।

हाल नेपालबाट कामदारका रूपमा मात्रै इजरायल जाने क्रम बढेको सन्दर्भ उल्लेख गर्दै उनले श्रमसँगै कृषि प्रविधि र लगानीलाई समेत प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

सुदूरपश्चिम र कर्णाली प्रदेशको रैथाने बाली लोप हुने अवस्थामा पुगेकोप्रति चिन्ता व्यक्त गर्दै सांसद विष्टले जुम्लाको मार्सी धान जस्ता रैथाने बालीको विश्व बजारमा प्रवद्र्धन गर्ने ठोस योजनाबारे प्रश्न गरे ।

उनले भने, “इजरायलको आधुनिक कृषि प्रविधि नेपालमा भित्र्याउन र त्यस क्षेत्रमा इजरायली लगानी आकर्षित गर्न यहाँले के पहल गर्नुहुन्छ ? कृषि क्षेत्रको आधुनिकीकरणमार्फत नेपालको उत्पादन र उत्पादकत्व बढाउने यहाँको योजना के छ ? विशेषगरी सुदूरपश्चिम र कर्णालीका लोपोन्मुख रैथाने बालीको संरक्षण, प्रवद्र्धन र अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्न इजरायलको कृषि प्रविधि कसरी उपयोग गर्नुहुन्छ ? जुम्लाको मार्सी धानलगायतका उत्पादनको व्यावसायिक खेती र निर्यात बढाउन यहाँले कस्तो भुमिका खेल्नुहुन्छ ?”

सांसद विष्टले भूगोल विशेषलाई प्राथमिकतामा राखेर राष्ट्रिय हित प्रवद्र्धन गर्न राजदुतको भुमिका महत्वपूर्ण हुने बताए ।