काठमाडौँ । नेपाल राष्ट्र बैंकले भोटेकोशी तथा बुढीगण्डकी नदीको बाढीबाट प्रभावित ऋणीलाई राहत दिन २०८३ असोज मसान्तमा तिर्नुपर्ने किस्ता (साँवा र/वा ब्याज) भुक्तानीको समयावधि पुस मसान्तसम्म थप गर्न सक्ने व्यवस्था गरेको छ।
राष्ट्र बैंकले परिपत्र जारी गर्दै बाढीग्रस्त क्षेत्रमा प्रत्यक्ष असर परेका उद्यम, परियोजना वा व्यवसायका साथै रसुवा भन्सार नाकाबाट हुने कच्चा पदार्थ, अर्ध-तयारी तथा तयारी मालवस्तुको आयात-निर्यातमा आधारित व्यवसायका ऋणी यसको दायरामा पर्ने जनाइएकाे छ।
बाढीग्रस्त क्षेत्रमा प्रभावित ऋणीको हकमा बिक्री तथा आम्दानी पनि विचारणीय हुने जनाइएकाे छ।
किस्ता तिर्न साँच्चै कठिनाइ भएका ऋणीलाई मात्र यो सुविधा दिइनेछ। त्यसअघि संस्थाहरूले ऋणीको नगद प्रवाह, जगेडामा रहेको रकमलगायतको वित्तीय अवस्था, आयात-निर्यातमा परेको असर र कर्जाको सदुपयोगिताको यथार्थपरक विश्लेषण गर्नुपर्नेछ।
बाढीको असरबारे गरिएको विस्तृत विश्लेषण र अध्ययनका आधारमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई यो निर्देशन दिएको हो।


प्रतिक्रिया दिनुहोस्