श्रीलंकाका लागि प्रस्तावित राजदुत मञ्चलाकुमारी झाको कार्ययोजनाः पर्यटन, धर्म र कुटनीतिलाई प्राथमिकता


काठमाडाैँ । श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदुत डा. मञ्चलाकुमारी झाले नेपाल र श्रीलंकाबिचको ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्बन्धलाई आर्थिक साझेदारीको ठोस नतिजामा बदल्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् । 

संसदीय सुनुवाई समितिको बुधबारको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै झाले पर्यटन, रामायण सर्किट, बौद्ध सम्पदा र व्यापार प्रवद्र्धनलाई आफ्नो कार्यकालका चार मुख्य रणनीतिक स्तम्भका रूपमा अघि सारेकी हुन् ।

प्रस्तावित राजदुत झाले दुई मुलुकबिचको सम्बन्धलाई थप सुदृढ बनाउन पञ्चशीलको सिद्धान्त र साझा सांस्कृतिक सम्पदालाई आधार मान्नुपर्नेमा जोड दिइन् ।

उनले जनकपुरको रामायण परम्परा र लुम्बिनीको बौद्ध विरासतलाई श्रीलंकाली जनस्तरसँग जोड्न सकेमात्र कुटनीतिक उपलब्धि हासिल हुने बताइन् ।

आफ्नो चारवर्षीय कार्यकालका लागि प्रश्तावित रणनीतिक कार्ययोजना प्रस्तुत गर्दै उनले पहिलो स्तम्भमा पर्यटन सम्पर्क र हवाई सञ्जाललाई राखिन् ।

यसअन्तर्गत लुम्बिनी विमानस्थललाई लक्षित गरी श्रीलंकाबाट तीर्थयात्री भित्र्याउन सिधा वा चार्टर उडानको सम्भाव्यता खोजी गर्ने उनको योजना छ ।

दोस्रो स्तम्भमा ‘रामायण सर्किट’ र तेस्रोमा ‘बौद्ध सम्पदा’ प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ । चौथो स्तम्भमा व्यापार तथा लगानी प्रवद्र्धन, निजी क्षेत्रबीचको सहकार्य र श्रीलंकामा रहेका नेपालीको हित संरक्षणलाई समेटिएको छ । 

समितिको बैठकमा झाले नेपाल सरकारको नीति तथा कार्यक्रमलाई आत्मसात गर्दै ‘सबैसँग मित्रता, कसैसँग शत्रुता छैन’ भन्ने परराष्ट्र नीतिको मर्मअनुसार आफू अघि बढ्ने बताइन् ।

उनले दुई देशबीचको साझा चुनौतीको रूपमा रहेको उच्च हवाई भाडा र सिमित प्रत्यक्ष सम्पर्कलाई समाधान गर्न दुवै पक्षका सरकारी तथा निजी क्षेत्रसँग समन्वय गर्ने खाकासमेत प्रस्तुत गरिन् । 

समितिका सदस्यहरूसँगको अन्तरक्रियामा उहाँले आफूले तयार पारेको कार्ययोजना एक प्रारम्भिक खाका मात्र भएको र सांसदहरूको सुझावका आधारमा यसलाई थप परिष्कृत गर्दै लैजाने स्पष्ट पारिन्।