काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको सामाजिक सेवा समिति एवं विपद् तथा दैवी प्रकोप समिति सभापति राजकुमार कार्कीले भोटेकोसी प्रलयपछि बढी क्षति साना तथा मझौला व्यवसायीहरूले बेहोरेको उल्लेख गर्दै उनीहरूलाई पुनः आर्थिक मूलधारमा ल्याउन परम्परागत धितोको मापदण्डभन्दा बाहिर गएर विश्वास र सिपलाई आधार बनाइनुपर्नेमा जोड दिएका छन् ।
अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनिकरण दिवसको अवसरमा आयोजित विपद जेखिम न्यूनीकरणसम्बन्धी पाँचौ राष्ट्रिय सम्मेलनको शत्रमा बोल्दै सभापति कार्कीले बाढीले उनीहरूको धनसम्पत्तिसँगै वर्षौंको मेहनतबाट बनाएको सामाजिक प्रतिष्ठासमेत गुमेको र बाँकी ऋणमात्रै रहेको उल्लेख गरे ।
उनले भने,“पुनस्र्थापनामा सबै लाग्नुपर्छ । सबैभन्दा धेरै साना र मझौला व्यवसायीहरूको सम्पूर्ण चिज गुमेको छ । उहाँहरूको वर्षौंदेखिको स्टाटस गुमेको छ, धनसम्पत्ति गुमेको छ । प्रियजन गुमेका छन् तर सबै कुरा गुमेपछि पनि उहाँहरूसँग बाँकी रहेको कुरा ऋण मात्रै हो ।”
विपद्पछि पुनस्र्थापनाको सबैभन्दा ठुलो चुनौती साना तथा मझौला व्यवसायीहरूको जीवन र व्यवसायलाई पुनः उभ्याउनु रहेको सभापति कार्कीको निष्कर्ष छ ।
उनले पुनस्र्थापनालाई मानवीय संवेदना र आर्थिक पुनरुत्थानसँग जोडेर अगाडि बढाउनुपर्नेमा जोड दिए ।
उनले भने,“अब हामीले सबैलाई मूलधारमा जोड्नुपर्छ। विशेष गरी साना तथा मझौला व्यवसायीहरूलाई विश्वासको आधारमा, सीपको आधारमा सरल ढङ्गले कर्जा प्रवाह गर्ने फराकिलो रणनीति बनाउनुपर्छ । उनीहरूलाई फेरि उभिन सक्ने वातावरण बनाउन सके मात्रै वास्तविक पुनस्र्थापना सम्भव हुन्छ ।”
भौतिक संरचनाको पुनर्निर्माण मात्र पर्याप्त नहुने भन्दै व्यवसायीहरूको आत्मविश्वास, जीविकोपार्जन र सामाजिक हैसियत पुनःस्थापित गर्ने गरी राज्य, बैंक तथा वित्तीय संस्थाहरूले विशेष कार्यक्रम ल्याउन आवश्यक रहेको सभापति कार्कीको भनाई थियो ।
सभापति कार्कीले विपद्को परिभाषालाई फराकिलो पारेर तयारीदेखि व्यवस्थापनसम्म निजी क्षेत्रलाई रणनीतिक साझेदार बनाउनुपर्नेमा जोड दिए ।


प्रतिक्रिया दिनुहोस्