बडादसैँको पाँचौँ दिन स्कन्दमाताको उपासना, देशभरका शक्तिपीठमा बिहानैदेखि श्रद्धालुको घुइँचो


काठमाडाैँ । आश्विन शुक्ल पञ्चमी अर्थात बडादसैँ नवरात्रको पाँचौँ दिन आज नेपालीले नवदुर्गा भवानीको पाँचौँ रूप स्कन्दमाताको श्रद्धा र निष्ठापूर्वक पूजा–आराधना गरिरहेका छन् । 

यस अवसरमा काठमाडौँ उपत्यकास्थित नक्शाल भगवती र मैतीदेवी लगायत देशभरका प्रमुख शक्तिपीठ तथा देवी मन्दिरहरूमा बिहानैदेखि दर्शनार्थी भक्तजनहरूको उल्लेख्य भीड लागेको हो ।

नवरात्रको पाँचौँ दिन विशेष रूपमा स्कन्दमाताको उपासना गर्ने शास्त्रीय विधि छ । पौराणिक मान्यताअनुसार भगवान शिव र पार्वतीका जेठा सुपुत्र कुमार (कार्तिकेय) को अर्को नाम ‘स्कन्द’ हो ।

बालस्वरूप स्कन्दलाई काखमा राखेर सिंहमाथि विराजमान चतुर्भुज देवीलाई ‘स्कन्दमाता’ भनिन्छ । देवीको यस ममतामयी स्वरूपको आराधना गर्नाले मन शान्त हुने, पारिवारिक कल्याण मिल्ने र मनोकांक्षा पूर्ण हुने जनविश्वास रहेको छ । 

काठमाडौँ उपत्यकाका ऐतिहासिक तथा प्रसिद्ध शक्तिपीठहरू नक्शाल भगवती, मैतीदेवी, भद्रकाली, शोभा भगवती, संकटा, कालिकास्थान र गुह्येश्वरीमा आज बिहान सबेरैदेखि भक्तजनहरूको लामो लाम लागेको छ ।

ललितपुरको बंगलामुखी तथा भक्तपुरका विभिन्न शक्तिपीठहरूमा पनि श्रद्धालुहरूको बाक्लो उपस्थिति देखिएको छ । भक्तजनहरू फलफूल, नैवेद्य, रातो टीका र फूलमाला लिएर देवीको दर्शनका लागि पालो पर्खिरहेका छन् ।

उपत्यकाबाहिरका प्रमुख शक्तिपीठहरू जस्तै काभ्रेको पलाञ्चोक भगवती, गोरखाको मनकामना, पोखराको विन्ध्यवासिनी, बाँकेको बागेश्वरी तथा ताप्लेजुङको पाथीभरामा समेत आज बिहानैदेखि पूजाआजा गर्नेहरूको घुइँचो बढेको छ ।

नवरात्रका अवसरमा शक्तिपीठहरूको दर्शन गर्नाले भय, रोग र संकटबाट मुक्ति मिल्ने विश्वास गरिन्छ । घटस्थापनादेखि शुरु भएको नवरात्रअन्तर्गत पहिलो दिन शैलपुत्री, दोस्रो दिन व्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा र चौथो दिन कुष्माण्डा देवीको पूजा गरिएको थियो ।

पाँचौँ दिन स्कन्दमाताको उपासनापछि भोलि षष्ठी तिथिका दिन कात्यायनी देवीको पूजाआराधना गरिनेछ । दसैँ नजिकिएसँगै शक्तिपीठ र बजारहरूमा चाडपर्वको उल्लास र चहलपहल स्पष्ट रूपमा देखिएको छ ।