अमेरिकी अन्तरिक्ष संस्था (नासा) र निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस) का लागि नयाँ व्यावसायिक आपूर्ति अभियान सफलतापूर्वक सुरु गरेका छन् ।
मंगलबार बिहान फ्लोरिडास्थित केप कानाभेरल स्पेस फोर्स स्टेसनबाट २ हजार ८६० किलोग्राम कार्गो तथा वैज्ञानिक उपकरण बोकेर स्पेसएक्सको ‘ड्रागन’ अन्तरिक्ष यानले पृथ्वीको कक्षतर्फ उडान भरेको हो ।
अमेरिकी स्थानीय समयअनुसार मंगलबार बिहान ६ः३३ बजे (१०३३ जीएमटी) स्पेसएक्सको शक्तिशाली ‘फाल्कन–९’ रकेटमार्फत उक्त कार्गो यान प्रक्षेपण गरिएको थियो ।
अन्तरिक्ष उडानको पहिलो चरण सफलतापूर्वक पूरा गरी रकेटको मुख्य बुस्टर पृथ्वीमा फर्किएर केप कानाभेरल स्पेस फोर्स स्टेसनमै सुरक्षित अवतरण भएको छ । यसले अन्तरिक्ष उडान प्रविधिमा स्पेसएक्सको पुनःप्रयोगयोग्य क्षमतालाई पुनः पुष्टि गरेको छ ।
नासाकाअनुसार ड्रागन अन्तरिक्ष यानले बिहीवार बिहान पूर्वीय समयअनुसार ११ः०० बजे (१५०० जीएमटी) अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रसँग स्वचालित रूपमा सम्पर्क (डकिङ) स्थापित गर्ने तालिका छ ।
अन्तरिक्ष केन्द्रमा तैनाथ वैज्ञानिक तथा अन्तरिक्ष यात्रीहरूका लागि दैनिक उपभोग्य वस्तु, खाद्य सामग्री तथा दर्जनौँ नयाँ अनुसन्धान उपकरणहरू उक्त यानमा पठाइएको छ ।
यस मिसनअन्तर्गत पठाइएका वैज्ञानिक सामग्रीहरू चिकित्सा र ऊर्जा क्षेत्रका लागि विशेष महत्त्वपूर्ण मानिएका छन्।
जसमा सूक्ष्म गुरुत्वाकर्षण (माइक्रोग्य्राभिटी) मा कृत्रिम आँखाको पर्दा (रेटिना) उत्पादन गर्ने हार्डवेयर, जटिल औषधि परीक्षणलाई गति दिन तयार पारिएका थ्री–डी मुटुको तन्तुका मोडेलहरू र अन्तरिक्ष केन्द्रका लागि आवश्यक अन्तिम सेटको रोल–आउट सोलार एरे (आइरोसा) समावेश छन्।्ल्लड्रागन यान आगामी नोभेम्बर महिनाको मध्यसम्म अन्तरिक्ष केन्द्रमै रहनेछ ।
मिसन सम्पन्न भएपछि त्यहाँबाट गरिएका समय–संवेदनशील वैज्ञानिक अनुसन्धानका नमुना तथा फोहोर सामग्री बोकेर उक्त यान पृथ्वीतर्फ फर्कनेछ र क्यालिफोर्नियाको तटीय समुन्द्रमा अवतरण (स्प्लासडाउन) गर्नेछ ।
यो मिसन नासाका लागि स्पेसएक्सले सञ्चालन गरेको ३५ औँ व्यावसायिक आपूर्ति सेवा मिसन हो ।


प्रतिक्रिया दिनुहोस्