संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता


काठमाडाैँ । संघीय संसदका दुवै सदनमा गरी ३६ वटा विधेयक विचाराधीन अवस्थामा रहेका छन् । तीमध्ये प्रतिनिधिसभाका विभिन्न विषयगत समितिमा २४ वटा विधेयक विचाराधीन रहेको संघीय संसद् सचिवालयले जनाएको छ । 

संसद सचिवालयकाअनुसार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ५ वटा, अर्थ समितिमा ४ वटा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, महिला तथा सामाजिक मामिला समिति र कानून, न्याय तथा मानव अधिकारमा समितिमा ३÷३ वटा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र राज्य व्यवस्था तथा सुशासन समितिमा २/२ वटा र कृषि तथा प्राकृतिक स्रोत समितिमा एउटा विधेयक विचाराधीन रहेको छ ।

संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीकाअनुसार राष्ट्रिय सभाका समितिमा भने कुनैपनि विधेयक विचाराधीन छैन । प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा प्रश्तुत हुन बाँकी रहेको एउटा विधेयक रहेको छ ।

राष्ट्रिय सेवा दल विधेयकको सन्देश राष्ट्रिय सभामा प्रस्तुत हुन बाँकी रहेको उनले बताए । प्रतिनिधि सभाका समितिमा विचाराधीन विधेयकमा अर्थसम्बन्धी केही नेपाल ऐन संशोधन र खारेज गर्ने विधेयक, राहदानी (पहिलो संशोधन) विधेयक, भुक्तानी तथा फछ्र्योटसम्बन्धी विधेयक, फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक, चलचित्र विधेयक, खानी तथा खनिज पदार्थसम्बन्धी विधेयक लगायत छन् ।

उनले भने, “हाल संघीय संसदमा ३६ वटा विधेयकहरू विचाराधीन अवस्थामा छन् । त्यसमध्ये प्रतिनिधि सभाका समितिहरूमा २४ वटा विधेयकहरू विचाराधीन छन् । खासगरी अर्थ सम्बन्धी केही कानूनलाई संशोधन र खारेज गर्ने ऐनसँग सम्बन्धित विधेयक, राहदानी पहिलो संशोधन विधेयक, भुक्तानी फस्र्यौट, फोहोरमैला व्यवस्थापन लगायतका विभिन्न २४ वटा विधेयकहरू प्रतिनिधि सभाका समितिहरूमा विचाराधीन रहेका छन् भने राष्ट्रिय सभाका समितिमा कुनैपनि विधेयक विचाराधीन छैनन् । तर राष्ट्रिय सभामा प्रतिनिधि सभाबाट पारित भएको राष्ट्रिय सेवा दल विधेयकको सन्देश प्रस्तुत हुन बाँकी छ । अन्यथा राष्ट्रिय सभामा कुनै पनि विधेयकहरू छैनन् ।”

संसदमा नयाँ विधेयक दर्ताको संख्या सात पुगेको छ । अधिवेशन अन्त्य हुने दिन संघीय निजामती सेवा विधेयक, २०८३ दर्ता भएको थियो । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले असोज १६ गते राती १२ बजेबाट लागू हुनेगरी संघिय संसदको अधिवेशन अन्त्य गरेका थिए ।

संसद अधिवेशन अन्त्य भएपछि थप छ वटा विधेयक दर्ता भएको प्रवक्ता गिरीले जानकारी दिए । संसद अधिवेशन बन्द भएपछि दर्ता भएका थप ६ नयाँ विधेयकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, नेपाल हवाई सेवा प्राधिकरण विधेयक, सुशासन (व्यवस्थापन तथा संचालन) (पहिलो संसोधन) विधेयक, भवन (दोस्रो संसोधन) विधेयक, राष्ट्रिय सडक सुरक्षा विधेयक र नविकरणीय उर्जा तथा उर्जा दक्षतासम्बन्धी विधेयक रहेका छन् । त्यस्तै, सभामा प्रश्तुत भएर मात्रै रहेको एउटा विधेयक छ ।

डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक सभामा विचाराधीन रहेको प्रवक्ता गिरीले जानकारी दिए । उनकाअनुसार समितिमा छलफल भएर प्रतिवेदन तयार भईसकेका दुई वटा विधेयक रहेका छन् ।

संवैधानिक निकायका पदाधिकारीहरूको सेवा, शर्त र सुविधासम्बन्धी पहिलो संशोधन विधेयक, २०८३ को समितिले प्रतिवेदन सभामा पेस गरेर सभामा विचाराधीन छ । नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयकको भने समितिको प्रतिवेदन तयार भएर सचिवालयमा प्राप्त भएको उनले बताए ।

उनकाअनुसार संघीय संसद्का दुवै सदनबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेका विधेयकको संख्या १२ रहेको छ । यस्तै संसदबाट ६ वटा सन्धी तथा महासन्धी पेश भएर पारित भइसकेका छन् । 

उनले भने, “नयाँ दर्ता विधेयकको सन्दर्भमा अधिवेशन अन्त्य हुने दिन संघीय निजामती सेवा विधेयक २०८३ दर्ता भएको थियो, त्यसपश्चात ६ वटा विधेयकहरू दर्ता भएका छन् । हाल ७ वटा विधेयकहरू नयाँ दर्ता भएको अवस्था छ । सभामा प्रश्तुत मात्रै भएर रहेको विधेयक एउटा छ, यो डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक भन्ने छ । समितिको प्रतिवेदन पेश भएर सभामा विचाराधीन अवस्थामा संवैधानिक निकायका पदाधिकारीहरूको सेवा, शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक २०८३ रहेको छ । समितिको प्रतिवेदन प्राप्त भएर बसेको अवस्थामा एउटा विधेयक छ, राष्ट्र बैंक तेस्रो संशोधन विधेयक समितिको प्रतिवेदन प्राप्त भएर बसेको छ । यो बीचमासंघीय संसदका दुवै सभाबाट पारित भएर सम्माननीय राष्ट्रपतिज्यूबाट १२ वटा विधेयकहरु प्रमाणीकरण भइसकेका छन् ।”

समितिमा विचराधिन विधेयकमाथी दशैँको विदापछि अब छलफल गर्ने तयारी गरिएको संसद सचिवालयले जनाएको छ । दसैँ विदा अगाडी समितिमा कतिपय विधेयकहरूको दफावार छलफल भइरहेको थियो भने केही विधेयकहरुको सैद्धान्तिक छलफल शुरु गरिएको थियो । विदापछि समितिमा विधेयकलाई टुंगोमा पु¥याउनेगरि छलफल अगाडी बढाउने तयारी गरिएको छ ।