काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको संसदीय दलको बैठक सोमवार सिंहदरबारस्थित दलको कार्यालयमा शुरु भएको छ ।
आगामी संसद बैठकमा पार्टीको उपस्थिति प्रभावकारी बनाउने र सरकारका पछिल्ला कदमहरूबारे साझा धारणा तय गर्ने उद्देश्यले बैठक आह्वान गरिएको हो ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी बैठकमा समसामयिक राजनीतिक परिस्थिति, सरकारको कार्यशैली तथा संसदमा निर्वाह गर्नुपर्ने भुमिकाका विषयमा सांसदहरूबीच गहन छलफल भइरहेको छ ।
विशेषगरी आमसञ्चार माध्यम तथा पत्रकारमाथि भइरहेको भनिएको धरपकड, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र नागरिक अधिकारका विषयलाई बैठकमा प्राथमिकताका साथ उठाइएको छ ।
बैठकमा सहभागी नेताहरूकाअनुसार सत्तारूढ गठबन्धन र विशेष गरी गृह प्रशासनको पछिल्लो कार्यशैलीप्रति प्रमुख प्रतिपक्षी दलले गम्भीर चासो व्यक्त गरेको छ ।
पत्रकार जगतमाथि सिर्जना गरिएको त्रास र लोकतान्त्रिक मूल्यमान्यताविपरितका गतिविधिलाई संसदमा सशक्त ढंगले उठाउने तयारी काँग्रेसको छ ।
यसैगरी, संसदका आगामी बैठकहरूमा जनसरोकारका विषय, महँगी, सुशासन र कानून निर्माणका प्रक्रियाका बारेमा पनि छलफल हुने बताइएको छ ।
प्रमुख प्रतिपक्षका रूपमा सरकारलाई संसदप्रति उत्तरदायी बनाउन र जनहितका मुद्दामा सम्झौता नगर्ने रणनीति तय गर्न यो बैठक केन्द्रित रहेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्