काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले नेपाल संवत्को प्रयोग सरकारी कामकाज, सार्वजनिक अभिलेख, शैक्षिक क्षेत्र तथा डिजिटल प्रणालीमा विस्तार गर्नुपर्ने बताएका छन्।
मंगलवार भक्तपुरमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले नेपाल संवत् ११४७ नयाँ वर्षको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिनु महत्वपूर्ण उपलब्धि भए पनि यसको व्यावहारिक कार्यान्वयन आवश्यक रहेको बताए ।
नेपाल संवत् वर्ष गणनाको आधार मात्र नभई नेपालको ऐतिहासिक सभ्यता, मौलिक संस्कृति र राष्ट्रिय पहिचानको प्रतीक भएको उहाँको भनाइ छ । यसको प्रभावकारी कार्यान्वयनका लागि सरकारले स्पष्ट नीति, बजेट र कार्ययोजना ल्याउनुपर्ने उनले जोड दिए ।
सभामुख अर्यालले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले आफ्नो सम्पत्ति जनताको हितमा समर्पण गरी ऋणमा डुबेका सर्वसाधारणलाई ऋणमुक्त गराएको योगदान सामाजिक न्याय र परोपकारको अनुपम उदाहरण भएको उल्लेख गरे ।
उनले शङ्खधर साख्वाःको योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र नेपाल भाषा तथा लिपिको संरक्षण गर्न राज्यले प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने बताए ।
नेपाल संवत् आन्दोलनले भाषा, लिपि र संस्कृतिको संरक्षणसँगै लोकतान्त्रिक चेतना अभिवृद्धिमा समेत योगदान पुर्याएको उल्लेख गर्दै उहाँले आन्दोलनका अग्रज तथा अभियन्ताहरूको योगदानलाई राज्यले उचित सम्मान गर्नुपर्ने धारणा राखे ।
नेपाल संवत् ११४७ ले नेपालीबीच एकता, सद्भाव, समृद्धि र सहकार्यको भावना थप बलियो बनाउने विश्वाससमेत उनले व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस्