ओम मेगाश्री फार्मास्युटिकल्सको नोक्सानीमा सुधार, खर्च कटौतीले दियो राहत



काठमाडौँ । ओम मेगाश्री फार्मास्युटिकल्स लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै खुद नोक्सानीमा उल्लेखनीय सुधार गरेको छ ।

असोज मसान्तसम्मको अपरिष्कृत विवरण अनुसार कम्पनीको खुद नोक्सानी १ करोड २३ लाख ३१ हजार रुपैयाँमा झरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनी २ करोड ३० लाख ७७ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको थियो । आम्दानीमा सामान्य गिरावट आए पनि कम्पनीले सञ्चालन तथा वित्तीय खर्चमा गरेको भारी कटौतीका कारण नोक्सानी करिब आधा घटाउन सफल भएको हो ।

समीक्षा अवधिमा कम्पनीले सञ्चालन मार्फत ४ करोड ८३ लाख ७० हजार रुपैयाँ र अन्य स्रोतबाट ८ लाख ८९ हजार गरी कुल ४ करोड ९२ लाख ६० हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको कुल आम्दानी ५ करोड १६ लाख १२ हजार रुपैयाँ रहेको थियो ।

आम्दानी केही खुम्चिए पनि कम्पनीले आफ्नो कुल खर्चलाई ७ करोड ४६ लाख ८९ हजार रुपैयाँबाट घटाएर ६ करोड १५ लाख ९१ हजार रुपैयाँमा सीमित राखेको छ । विशेषगरी वित्तीय खर्च र कार्यालय तथा प्रशासनिक खर्चमा आएको कमीले कम्पनीको वासलातमा सकारात्मक प्रभाव पारेको देखिन्छ ।

६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष ८ करोड ६४ लाख ९१ हजार रुपैयाँ ऋणात्मक रहे पनि अन्य जगेडामा ६ करोड २३ लाख ९९ हजार रुपैयाँ सञ्चित छ।

हाल कम्पनीको कुल सम्पत्ति १ अर्ब ६१ करोड १६ लाख रुपैयाँ नाघेको छ । वित्तीय सूचकहरूतर्फ कम्पनीको वार्षिकीकरण प्रतिशेयर आम्दानी ८ रुपैयाँ २२ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ९५ रुपैयाँ ९८ पैसा र प्रतिशेयर कुल सम्पत्तिको मूल्य २६८ रुपैयाँ ६० पैसा कायम भएको छ ।

दोस्रो बजारमा पहिलो त्रैमासको ६१ कारोबार दिनमा कम्पनीको कुल २ लाख ३ हजार ९१९ कित्ता सेयर खरिदबिक्री भएको छ । यस अवधिमा अधिकतम ९९६ रुपैयाँ १० पैसा र न्यूनतम ८०६ रुपैयाँ ५० पैसासम्म कारोबार भएको कम्पनीको शेयर असोज मसान्तमा प्रतिकित्ता ८१५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

कच्चा पदार्थको आपूर्तिमा देखिने अस्थिरता र नियामक प्रक्रियाका जटिलतालाई कम्पनीले मुख्य चुनौतीका रूपमा औंल्याएको छ ।