सुशासन कायम गरेरै राजश्वको महत्वकांक्षी लक्ष्य पूरा गर्छौंः अर्थमन्त्री वाग्ले


काठमाडाैँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकमा सुशासन कायम गराएरै सरकारले यस वर्ष राखेको १५ खर्ब ८० अर्ब रूपैयाँ राजश्व संकलन गर्ने लक्ष्य पूरा गराइछोड्ने बताएका छन् । 

गत वर्षको तुलनामा करिव २७ प्रतिशतले बढी राजश्व उठाउने लक्ष्य महत्वाकाक्षी भए पनि सुशासन कायम गराएरै हासित गरिने बताएका हुन् ।

राष्ट्रिय कर दिवसका अवसरमा बोल्दै अर्थमन्त्री वाग्लेले गत वर्ष एक हजार २५० अर्ब रूपैयाँ राजस्व संकलन भएको जानकारी दिए । करिव ७० खर्ब रूपैयाँको अर्थतन्त्रमा १२ खर्ब रूपैयाँ हाराहारी मात्र राजश्व संकलन भइरहेको उल्लेख गर्दै उहाँले यस वर्ष राजस्व वृद्धिको लक्ष्य बढाइएको बताए । 

कोभिड महामारीपछि नेपालमा राजश्व संकलनको औसत वृद्धिदर ७ देखि ९ प्रतिशतमा सीमित रहेको उनले उल्लेख गरे । उक्त वृद्धिदरले मात्र अपेक्षित लक्ष्य हासिल गर्न नसकिने भन्दै यसपटक २७ प्रतिशतको वृद्धि लक्ष्य निर्धारण गरिएको उनको भनाइ छ । 

राजश्व संकलनको गति अझ तिब्र बनाउनुपर्ने आवश्यकता औँल्याउँदै उनले आफू स्वयं पनि प्रणालीलाई सक्रिय बनाउन मैदानमा उत्रने बताए । निजी क्षेत्रका सुझाव, गुनासा र समस्याहरू सुन्न सरकार तयार रहेको उनले स्पष्ट पारे । अर्थमन्त्री वाग्लेले कर नीतिमा स्थिरता र पूर्वानुमानयोग्यता कायम गर्नुपर्नेमा पनि जोड दिए । करजस्ता महत्वपूर्ण विषयमा पटक–पटक र हरेक हप्ता नीतिगत परिवर्तन गरिरहन नहुने उनको भनाइ छ । 

बलिया नीतिगत सुधार र सुशासनको प्रतिफलका कारण प्रतिकूल परिस्थितिका बिच पनि सरकार आर्थिक गतिविधि अघि बढाउन सफल भइरहेको उनले बताए । राजश्व संकलनको लक्ष्य पूरा गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य तथा समन्वय आवश्यक रहेको समेत उनको भनाइ छ ।