निजी क्षेत्रलाई राजश्व संकलनको स्रोत मात्र नभई आर्थिक विकासको सहयात्रीका रूपमा हेर्नुपर्छः कमलेश अग्रवाल


काठमाडाैँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले निजी क्षेत्रलाई सरकारको राजस्व संकलनको स्रोतका रूपमा मात्र नभई आर्थिक विकासको सहयात्रीका रूपमा हेर्नुपर्ने बताएका छन् । 

कर दिवसका अवसरमा राजधानीमा मंगलवार आयोजित कार्यक्रममा उनले निजी क्षेत्रलाई सहभागी नगराई राजस्व वृद्धिको लक्ष्य दीर्घकालीन रूपमा हासिल गर्न नसकिने बताएका हुन् ।

अग्रवालले मुलुकको अर्थतन्त्र विगत करिब ६ वर्षदेखि कोभिड–१९ को प्रभाव र त्यसपछिको अर्थतन्त्रको कमजोर व्यवस्थापनका कारण शिथिलताको अवस्थाबाट गुज्रिरहेको बताए ।

यस अवधिमा निजी क्षेत्रले विभिन्न चुनौती सामना गर्नुपरेको उल्लेख गर्दै उहाँले यस्तो अवस्थामा कर नीति लगानीमैत्री, उत्पादनमैत्री र रोजगारीमैत्री हुनुपर्नेमा जोड दिए ।

करलाई राजस्व संकलनको उपकरणका रूपमा मात्र नभई मुलुकको आर्थिक संरचना परिवर्तन गर्ने नीतिगत औजारका रूपमा प्रयोग गर्नुपर्ने बताउँदै उनले निजी क्षेत्रको मनोबल बढाउने र लगानीको वातावरण निर्माण गर्ने गरी सरकारले कर नीति बनाउनुपर्ने उल्लेख गरे ।

जेनजी आन्दोलनपछि आर्थिक समृद्धिको आधारमा झन्डै दुई तिहाइ बहुमत प्राप्त सरकार गठन भएकाले निजी क्षेत्र आशावादी रहेको बताउँदै अग्रवालले यसै सन्दर्भमा सरकारले अध्यादेशमार्फत संशोधन गर्न लागेको १४ क्षेत्रका ५९ वटा ऐन तथा कानूनका ४७४ दफासम्बन्धी व्यवस्थाको निजी क्षेत्रले प्रतिक्षा गरिरहेको बताए । 

अग्रवालले मूल्य अभिवृद्धि कर (भ्याट) प्रणालीमा सुधारको आवश्यकता औँल्याउँदै बहुदर प्रणाली लागू गर्ने विषयमा चालु आर्थिक वर्षको बजेटमा उच्चस्तरीय समिति गठन गरी अध्ययन गर्ने घोषणा भइसकेको स्मरण गर्दै उक्त अध्ययन प्रभावकारी रूपमा कार्यान्वयन गर्न उनले सरकारसँग आग्रह गरे ।

साना उद्यमी, व्यवसायी तथा स्टार्टअपलाई सहजीकरण गर्न वार्षिक दुई करोड रूपैयाँसम्मको कारोबारमा भ्याटको थ्रेसहोल्ड कायम गर्नुपर्ने उनको माग छ । त्यस्ता व्यवसायीबाट कुल कारोबारको ०.५ प्रतिशतका दरले टर्नओभर ट्याक्स लिने व्यवस्था गर्नुपर्ने उनले बताए ।

यसो गर्दा साना व्यवसायीले भ्याट र अडिटका लागि महँगो तथा झन्झटिलो लेखा प्रणाली राख्नुपर्ने बाध्यताबाट छुटकारा पाउने उनको भनाइ छ ।

त्यसैगरी, नकारात्मक सूचीमा रहेका वस्तुबाहेक नेपालमा उत्पादन हुने वस्तुमा अन्तःशुल्क हटाउनुपर्ने अग्रवालले माग गरे । हार्मोनाइज्ड सिस्टम (एचएस कोड) का कारण नेपालमा वस्तु वर्गीकरणमा अन्योल र अस्पष्टता देखिएको तथा त्यसको असर अन्तःशुल्कको दरबन्दीमा समेत परेको उनले बताए । अन्तर्राष्ट्रिय मापदण्डअनुसारको एचएस कोड लागू गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराए । 

भन्सार, मूल्य अभिवृद्धि कर र अन्तःशुल्क लगायतका कर प्रणालीलाई थप व्यवस्थित र पारदर्शी बनाउनुपर्नेमा जोड दिँदै अग्रवालले आयात प्रक्रियालाई स्वचालित प्रणालीमा लैजानुपर्ने बताए । उनकाअनुसार लेटर अफ क्रेडिट (एलसी), एजेन्सी, बहुराष्ट्रिय कम्पनी तथा जीएसटी बिलमार्फत आयात हुने वस्तुमा स्वचालित च्यानलबाटै भन्सार र मूल्य अभिवृद्धि कर असुल गरी निकासीको व्यवस्था गर्नुपर्छ ।

भन्सारका उच्च दरका कारण चोरी पैठारीलाई प्रोत्साहन पुग्न सक्ने भन्दै उहाँले चोरी पैठारी नियन्त्रणका लागि भन्सार दर घटाउनुपर्ने बताए ।