काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ३ महिनामा ५५ खर्ब ९५ अर्ब २० करोड रूपैयाँ बराबरको तरलता प्रशोचन (कारोबारमा आधारित) गरेको छ ।
निक्षेप सङ्कलन बोलकबोलमार्फत १० खर्ब ३० करोड रूपैयाँ र स्थायी निक्षेप सुविधामार्फत ४५ खर्ब ९४ अर्ब ९० करोड रूपैयाँ गरेर कुल ५५ खर्ब ९५ अर्ब २० करोड रूपैयाँ बराबरको तरलता प्रशोचन (कारोबारमा आधारित) गरेको हो ।
अघिल्लो वर्षको सोही अवधिमा मौद्रिक व्यवस्थापनका विभिन्न उपकरणहरूमार्फत पटक–पटक गरी १३०७५ अर्ब ९५ करोड रूपैयाँ तरलता प्रशोचन गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
२०८३ असोज मसान्तमा निक्षेप सङ्कलन बोलकबोलमार्फत ६ खर्ब ६५ अर्ब ८० करोड रूपैयाँ र नेपाल राष्ट्र बैंक ऋणपत्रमार्फत ४ खर्ब रूपैयाँ गरी कुल १० खर्ब ६५ अर्ब ८० करोड रूपैयाँ प्रशोचन गरेको तरलता राष्ट्र बैंकमा बक्यौता रहेको जनाइएको छ ।
यस अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) बाट अमेरिकी डलर २ अर्ब २५ करोड खुद खरिद गरी ३ खर्ब ४४ अर्ब ९४ करोड रूपैयाँ तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर १ अर्ब ८६ करोड खुद खरिद गरी २ खर्ब ६२ अर्ब १४ करोड रूपैयाँ तरलता प्रवाह गरेको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलर ९२ करोड बिक्री गरी एक खर्ब ४१ अर्ब २७ करोड रूपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर १ अर्ब १२ करोड बिक्री गरी एक खर्ब ५८ अर्ब ७ करोड रूपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्