अधिकांश वाणिज्य बैंकहरूले कात्तिक महिनाकै ब्याजदरलाई दिए निरन्तरता


काठमाडौँ । अधिकांश वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेका छन् । मंसिर महिनाको लागि १४ ओटा वाणिज्य बैंकहरूले कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका हुन् भने ६ ओटा वाणिज्य बैंकहरूले ब्याजदर घटाएका हुन् ।

कात्तिक महिनाको तुलनामा मंसिरमा व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ०.१०७ प्रतिशत बिन्दुले घटेर ३.९०६ प्रतिशतमा झरेको छ ।

२० वटा वाणिज्य बैंकको व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर कात्तिकमा ४.०१३ प्रतिशत थियो । मंसिरमा घटेर ३.९०६ प्रतिशत कायम भएको हो ।

मंसिर महिनामा सबैभन्दा बढी व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर सानिमा बैंकको छ । बैंकले अधिकतम ४.५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

त्यस्तै नेपाल बैंकले ४.१५ प्रतिशत, कृषि विकास बैंकले ३.६५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ४ प्रतिशत, एनआईसी एसिया बैंकले ४ प्रतिशत र प्राइम कमर्सियल बैंकले ४ प्रतिशत ब्याजदर दिने भएका छन् ।

त्यसैगरी हिमालयन बैंकले ४ प्रतिशत, सिटिजन्स बैंक इन्टरनेसनलले ३.८५ प्रतिशत, सिद्धार्थ बैंकले ३.७६ प्रतिशत, नबिल बैंकले ३.७५ प्रतिशत, एभरेष्ट बैंकले ३.७५ प्रतिशत र लक्ष्मी सनराइज बैंकले ३।७५ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ३.७० प्रतिशत, कुमारी बैंकले ३।६१ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३.६५ प्रतिशत र माछापुच्छ्रे बैंकले ३.५० प्रतिशत ब्याजदर दिने भएका छन् ।

त्यस्तै ग्लोबल आइएमई बैंकले ४ प्रतिशत, प्रभु बैंकले ४.२५ प्रतिशत, एनएमबी बैंकले ४.२५ प्रतिशत र नेपाल एसबीआई बैंकले ४ प्रतिशत ब्याजदर कायम गरेका छन् ।

मंसिर महिनामा सबैभन्दा कम व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर माछापुच्छ्रे बैंकले ३.५० प्रतिशत कायम गरेको छ । कात्तिकको तुलनामा माछापुच्छ्रे बैंकले सबैभन्दा धेरै १ प्रतिशत बिन्दुले ब्याजदर घटाएको छ ।

संस्थागत मुद्दती निक्षेपतर्फ भने २० वाणिज्य बैंकको औसत अधिकतम ब्याजदर २.९९०५ प्रतिशत कायम भएको छ ।