काठमाडाैँ । निर्माण आयोजना तथा पूर्वाधार विकाससँग सम्बन्धित इञ्जिनियरिङ्ग बीमालाई थप व्यवस्थित, पारदर्शी र एकरूप बनाउने उद्देश्यले नेपाल बीमा प्राधिकरणले नयाँ निर्देशनको मस्यौदा तयार पारेको छ।
प्राधिकरणले ‘इञ्जिनियरिङ्ग बीमा सम्बन्धी निर्देशन, २०८३’ को मस्यौदा सार्वजनिक गर्दै सरोकारवालासँग राय तथा सुझाव मागेकाे छ ।
प्राधिकरणको बीमालेख शाखाले सराेकारवालाहरूलाइ कात्तिक १७ गते सूचना जारी गरी मस्यौदामाथि सात दिनभित्र सुझाव पठाउन आग्रह गरेको छ।
प्रस्तावित निर्देशनमा इञ्जिनियरिङ्ग बीमाअन्तर्गत प्रचलनमा रहेका ६ प्रकारका मुख्य बीमालेखलाई समेटिएको छ। जसमा कन्ट्र्याक्टर्स अल रिस्क (CAR), इरेक्सन अल रिस्क (EAR), कन्ट्र्याक्टर्स प्लान्ट एण्ड मेसिनरी (CPM), मेसिनरी इन्स्योरेन्स (MIP), इलेक्ट्रोनिक इक्विपमेन्ट इन्स्योरेन्स (EEI) तथा बोइलर एण्ड प्रेसर भेसल इन्स्योरेन्स (BPVI) रहेका छन्।
यी बीमालेखको कार्यान्वयनमा एकरूपता कायम गर्नुका साथै बीमितको हित संरक्षण गर्ने गरी विभिन्न व्यवस्था प्रस्ताव गरिएको छ।
निश्चित रकमभन्दा माथिको बीमामा स्थलगत निरीक्षण अनिवार्य
मस्यौदाले बीमा कम्पनीका लागि जोखिम मूल्याङ्कन प्रक्रियालाई थप व्यवस्थित बनाउन स्थलगत निरीक्षण अनिवार्य गर्ने प्रस्ताव गरेको छ।
जसअनुसार कन्ट्र्याक्टर्स अल रिस्क (CAR) र इरेक्सन अल रिस्क (EAR) अन्तर्गतका परियोजनामा एक करोड रुपैयाँभन्दा बढी बीमाङ्क भएमा बीमकले अनिवार्य रूपमा स्थलगत निरीक्षण गर्नुपर्नेछ।
त्यस्तै, वार्षिक नवीकरण हुने CPM, MIP, EEI र BPVI बीमालेखमा १० लाख रुपैयाँभन्दा बढी बीमाङ्क भएमा पनि स्थलगत निरीक्षण गरी जोखिम मूल्याङ्कन प्रतिवेदन तयार गर्नुपर्ने व्यवस्था मस्यौदामा छ।
न्यूनतम बीमाशुल्कभन्दा कममा बीमालेख जारी गर्न नपाइने
प्रस्तावित निर्देशनले बीमा कम्पनीले प्राधिकरणले निर्धारण गरेको न्यूनतम बीमाशुल्क दरभन्दा कममा बीमालेख जारी गर्न नपाउने व्यवस्था गरेको छ।
सामान्य अवस्थामा पूरा बीमाशुल्क प्राप्त नगरी बीमालेख जारी गर्न नपाइने भए पनि एक वर्षभन्दा बढी अवधि भएका परियोजनाका ठेक्कामा किस्ताबन्दीमा बीमाशुल्क भुक्तानी गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको छ।
यस्ता परियोजनामा बीमालेख जारी भएको ६० दिनभित्र कुल बीमाशुल्कको कम्तीमा एक तिहाइ रकम भुक्तानी गर्नुपर्नेछ। बाँकी रकम भने एक वर्षभित्र चुक्ता गरिसक्नुपर्नेछ।
पूर्ण क्षतिमा ५० प्रतिशतसम्म ह्रासकट्टी
दाबी भुक्तानीलाई पारदर्शी र व्यवस्थित बनाउन मस्यौदामा ह्रासकट्टी तथा अधिक सम्बन्धी स्पष्ट मापदण्ड प्रस्ताव गरिएको छ।
बीमित सम्पत्तिमा पूर्ण क्षति (Total Loss) भएमा सम्पत्तिको उमेरका आधारमा शून्यदेखि ५० प्रतिशतसम्म ह्रासकट्टी लागू हुनेछ। ६ महिनाभन्दा कम उमेरको सम्पत्तिमा ह्रासकट्टी नलाग्ने व्यवस्था गरिएको छ भने १० वर्ष वा सोभन्दा बढी पुरानो सम्पत्तिमा ५० प्रतिशत ह्रासकट्टी लागू हुनेछ।
त्यस्तै, दाबी भुक्तानीयोग्य रकमको अधिकतम १० प्रतिशतमा नबढ्ने गरी बीमक र बीमितबीच आपसी समझदारीमा अधिक रकम निर्धारण गर्नुपर्ने प्रस्ताव गरिएको छ।
दाबी नपरेको अवस्थामा बीमालेख रद्द गर्न सकिने
मस्यौदामा बीमा अवधि समाप्त हुनुअघि बीमालेख खारेज गर्न सकिने व्यवस्था राखिएकाे छ ।
कुल बीमा अवधिको २५ प्रतिशतभन्दा बढी समय बाँकी रहेको र कुनै दाबी नपरेको अवस्थामा परियोजना मालिक तथा बीमितको संयुक्त लिखित अनुरोधमा बीमालेख खारेज गर्न सकिने व्यवस्था गरिएकाे छ ।
यसैगरी, निर्माण कार्य सम्पन्न भई आयोजना हस्तान्तरण भएपछि लागू हुने त्रुटि सच्याउने अवधि भित्र उत्पन्न हुने जोखिमलाई समेत बीमालेखले समेट्ने व्यवस्था प्रस्ताव गरिएको छ।
प्रस्तावित निर्देशन स्वीकृत भई कार्यान्वयनमा आएपछि इञ्जिनियरिङ्ग बीमासम्बन्धी यसअघि प्राधिकरणबाट जारी भएका पुराना निर्देशन, निर्देशिका तथा परिपत्रहरू खारेज हुने भएका छन् ।
नयाँ व्यवस्थाले इञ्जिनियरिङ्ग बीमाको जोखिम मूल्याङ्कन, बीमाशुल्क निर्धारण, दाबी भुक्तानी तथा बीमालेखको कार्यान्वयनमा एकरूपता ल्याउने अपेक्षा गरिएको छ।
मस्यौदासम्बन्धी थप जानकारी आवश्यक परेमा प्राधिकरणका सहायक निर्देशकद्वय सुदिप गिरी र लोकप्रसाद काफ्लेसँग सम्पर्क गर्न सकिने प्राधिकरणले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्