कमला श्रेष्ठ २०३६ सालदेखि सौन्दर्य कला व्यावसयामा संलग्न छिन् । उद्योग वाणिज्य महासंघमा तीन कार्यकाल केन्द्रीय सदस्य भइसकेकी श्रेष्ठ फेरि पनि अर्को कार्यकालका लागि उम्मेदवारी घोषणा गरेकी छिन् । नेपालमा सौन्दर्य कला व्यावसायलाई विस्तार गर्ने श्रेय पनि श्रेष्ठलाई नै जान्छ । पछिल्लो समय पाठ्यक्रम नै बनाएर व्यावसायिक शिक्षाको रूपमा सौन्दय शिक्षालाई अगाडि बढाउने अभियानमा छिन् । नेपालमा स्नाकोत्तर तहसम्म सौन्दर्य सम्बन्धि विधामा पढाई होस् भन्ने उनको अपेक्षा छ । उनी २०६४ सालमा खुलेको सौन्दर्य कला व्यावसायी संघको अध्यक्ष समेत हुन् । आगामी नेपाल उद्योग वाणिज्य महासंघको चौथो कार्यकालका लागि उम्मेदवारी घोषणा गरेकी श्रेष्ठसँग टक्सारले गरेको कुराकानी
चौथो कार्यकालका लागि पनि नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्य समितिका लागि उम्मेदवार घोषणा गर्नुभएको छ किन ?
नेपाल उद्योग वाणिज्य महासंघ भनेको अर्बौ सम्पति कमाउने बिग कर्पोरेट हाउसहरूको साझा संगठन हो भन्ने धारणा जनमानसमा गयो । खासमा महासंघको ‘ब्याक बोन’ भनेको साना तथा मझौला व्यावसाय हो । ठुला कर्पोरेट हाउस सिमित छन् । हामी जस्ता साना तथा मझौला व्यावसायी कै हिस्सा ठुलो छ । त्यसैले महासंघमा हाम्रो प्रतिनिधित्व हुनुपर्छ । हाम्रा एजेण्डा पनि त्यहाँ सुनुवाई हुनुपर्छ र हामीजस्ताको पनि समस्या समाधान गर्नुपर्छ भन्ने उद्देश्यले छाता संगठन बनाइएको हो ।
उद्योग वाणिज्य महासंघमा ३ वटा कार्यकाल सदस्यको हैसियतमा काम गरेँ । एउटा उद्यमीको रूपमा काम गर्दै जाँदा मैले के देखेँ भने महिलाको सहभागिता न्यून छ । भवानी राणा अध्यक्ष भएर निस्कनु भएको छ तर अब उहाँपछि को त ? दोस्रो मान्छे नै छैन । महासंघको माहोल नै यस्तो रहेछ कि पुरुष ‘डोमिनेन्ट’ । पुरुष नै पुरुषको माझमा सिंगो एक्लो महिला जाँदा असजिलो अनुभव गर्नु त्यो स्वभाविक पनि हो । मैले ३ कार्यकाल लगातार जित्दै महासंघमा प्रतिनिधित्व गर्दा पुरुष साथीहरूले नै सहयोग गर्नुभयो । धन्यवादको पात्र फेरि उहाँहरू नै हुनुहुन्छ…
तपाईंका मुख्य एजेण्डा के के छन् ?
पहिलो कुरा त पछिल्लो समय नेपाल उद्योग वाणिज्य महासंघको साख झरेकै छ । सबैले औँला ठडाउने बाटो पाएका छन् । विभिन्न आरोप छाञ्छना लगाइएका छन् र हामीले सुन्दै आएका छौँ ।
महासंघको साख बढाउने काम सबैले गर्नुपर्ने नै छ । म आफै पनि महासंघमा रहेँ र अहिले सबैतिरबाट सुन्दा कस्तो महसुस भयो भने हाम्रै कमिकमजोरीको कारणले महासंघको साख गिरेको हो ।
अब यसलाई सुधार ल्याउनु छ । केही न केही परिर्वतन ल्याउनुपर्छ । समय सापेक्ष केही गर्नुपर्ने छ । यो साखलाई ढिलो चाँडो उठाउनु नै पर्छ भन्ने मेरो एजेण्डा हो । यो मेरो लागि अन्तिम पटकको निर्वाचन हुनेछ । अहिले आउनुको मुख्य उद्देश्य, मैले पूरा गर्न नसकेको दुईचार वटा अधुरा काम छन् ।
अहिले बनेको टिममा केही साथीहरू एकदमै जोशिला छन् । अहिले नेतृत्व गर्न चाहनेहरू साना तथा मझौला व्यावसायबाट बढी छन् ।
साना तथा मझौला व्यावासायका समस्या छन् भने यो उनीहरूले नै बुझ्दछन् । त्यसैले हामी सँगसँगै बढेका छौँ । यसभन्दा पहिले १२३ वटा वस्तुगत संघ एक भएर एक अर्कामा सहयोग आदान प्रदान, आफ्ना मुद्दाबारे छलफल गरेको अनुभव थिएन ।
यसपटक यो निकै उत्साहजनक छ । मेरो लागि त्यो नै सबैभन्दा ठुलो परिवर्तन हो । कतिपय साथीहरू नयाँ हुनुहुन्छ । यसलाई थप संस्थागत गर्नु छ । अर्को महिला नेतृत्वको संकट छ यसको विकास पनि अति आवश्यक छ ।
नेपाल उद्योग वाणिज्य महासंघमा महिलाको नेतृत्वको संकट भयो भन्नुभयो ? यसको विकास हुन नसक्नुको कारण के हो र यसका लागि तपाईंको भूमिका के रहन्छ ?
नेपाल उद्योग वाणिज्य महासंघमा जाँदै गर्दा मलाई कस्तो लागेको छ भने काम त धेरै गरियो अब उद्योग वाणिज्य महासंघको उपाध्यक्ष एउटा महिला अनिर्वाय राख्नुपर्छ भन्ने मेरो मुख्य एजेण्डा छ ।
यो आठ वर्ष अघिदेखि उठाएको माग हो । अहिलेसम्म विधान संशोधन हुन सकेको छैन । किनकि नेपाल उद्योग परिसंघ, हरेक जिल्ला उद्योग वाणिज्य संघका साथै विभिन्न समितिदेखि सरकारमा समेत महिलाहरूको सहभागिता बढ्दो छ ।
अनि महासंघ चाहिँ यसरी किन रित्तिँदै छ ? किन खाली हुैँदै छ भन्ने प्रश्न उठेको छ । त्यसैले महिला नेतृत्वको विकास हुँदै जाँदा एउटा उपाध्यक्षको पद अनिर्वाय महिलाका लागि राख्नै पर्छ भन्नका लागि पनि मेरो उम्मेद्वारी रहेको छ । आउँदो पुस्ताले त्यो ठाउँमा जानका लागि मैले अहिलेदेखि नै जग बनाउनुपर्छ ।
महिलालाई नेतृत्वमा आउन जटिल पनि छ । पुरानो नेतृत्व अगाडि नबढेसम्म नयाँ पुस्ता आउन सक्दैनन् र उनीहरूले बाटो देख्दैनन् । म अहिले एक्लै यो लडाईंमा छु । व्यक्तिगत व्यावसाय चौपट जस्तो भएको छ । दुबै हातमा लड्डु त फेरि हुँदैन । यसो भन्नुको अर्थ कि नेतृत्व कि व्यावसाय छनौट गर्नुपर्ने हुन्छ ।
अब आउँदो पुस्ताहरूलाई जनचेतना दिएर, शिक्षा दिएर, प्रोत्साहित गरेर ल्याउन सकिन्छ कि भन्रे परिकल्पना मेरो छ । सानै उमेरबाट प्रयास गर्दा छिट्टै लक्ष्यमा पुग्नुपर्छ । किन भने महासंघको नेतृत्वमा पुग्न कम्तिमा २५ वर्ष जति पो लाग्दो रहेछ । त्यसैले अलि उमेरमै नयाँ महिला नेतृत्वको विकास गरेर अगाडि ल्याउन सकिन्छ कि भनेर प्रयास गर्नुपर्ने छ ।
कमला श्रेष्ठ सौन्दर्य कला व्यावसायी संघको प्रतिनिधित्व गर्दै यहाँसम्म आउनु भयो आँट गर्नुभयो हिम्मत गर्नुभयो इफोर्ट लगाउनु भयो त्यो कारणले पनि तपाई यहाँ आउनुपर्छ भन्दैमा १/२ पटक होइन ३ पटक उहाँहरूले मलाई ल्याउनुभयो । त्यसको लागि म आभार व्यक्त गर्न चाहन्छु । त्यो गर्दा. ऊर्जा, मोटिभेसन, इन्करेज, काम गर्ने वातावरण सिर्जना भयो । त्यहाँ जाँदा काम पनि गरेँ मैले ।
तीन कार्यकाल महासंघको नेतृत्वमा त पुग्नुभयो । महासंघमा रहँदा नेतृत्वदायी अनुभव त छ नै । महासंघभित्रै रहेको समस्याबारे पनि गुनासो गर्नुभयो । सिमित व्यक्तिको हातमा महासंघ रहेको जस्तो भयो भन्ने बुझाई यहाँको छ । महासंघले आफ्नो कार्यक्षेत्र किन विस्तार गर्न सकेन वा यो गुनासो उद्योग वाणिज्य महासंघले किन सम्बोधन गर्न सकिरहेको छैन ?
मुख्य कुरा त सरकारको स्थायित्व छैन । सरकार नै स्थिर छैन, उसको नीति नियम नै स्थिर छैन । एउटा आउँछ एउटा कानुन बनाउँछ,अर्को आउँछ अर्को बनाउँछ,पहिलो त्यो कारण भयो ।
दोस्रो कारण भनेको महासंघको नेतृत्व वर्गले प्रयाप्त समय दिनुपर्छ । महासंघमा गएर कुर्सी लिइसकेपछि हाम्रो समस्या सुन्ने समय हुनुहुनुपर्यो । पहल गर्ने दायित्व हुनुपर्यो । यसको कता कता अभाव महसुस भएको छ । अर्को कुरा हामी आफैँले ‘इफोर्ट’ नपुर्याएको हो कि ? हामी आफैँलाई घच्घच्याउन नपुगेको हो कि ? किनभने प्यासी कुवाको छेउमा त जानै पर्यो नि ।
यति भनिरहँदा एकले अर्कोलाई आरोप मात्रै लगाएर पनि भएन । यो मुख्य त टिमवर्क हो । सरकारले पनि हाम्रा कुरा हाम्रा मुद्दा गम्भीरतापूर्वक सुन्नुपर्यो । महासंघको नेतृत्वको पहुँच हुन्छ, संस्थागत जिम्मेवारी हुन्छ । हामीले पनि पठाएका छौँ भनेर मात्रै भएन,घच्घच्याउनु पर्यो । हामीले जोडबल गर्दा समस्या समाधान हुन्छ ।
उदाहरणका लागि डा. युवराज खतिवडाको पालामा व्यूटी पार्लरमा भ्याट लागाउने निर्णय भयो । यो व्यावसाय त काठमाडौँमा मात्रै छैन । डाँडाकाँडामा बसेको सानो व्यावसाय गरेर बसेकाले कसरी कर तिर्छन् ? सबैले हामी त विस्ताफित हुने भयौँ के गरेर बाँच्ने भनेर भने । पछि सरोकारवाला निकायलाई बेलाएर छलफल भयो । उद्योग वाणिज्य महासंघले नेतृत्व गहुनुपर्यो र २ महिनामै समस्या समाधान भयो । गर्दा काम हुन्छ ।
अन्तमा यहाँको भनाइ केही छ कि ?
सुरुका दिनमा कला सौन्दर्य व्यावसाय गर्नु आफैमा जटिल थियो तर विभिन्न संकटका बिच चरण चरण गरेर यसलाई विकास गर्न सफल भए । शैलुन खोलेँ, इन्स्टिच्युट खोलेँ । विस्तारै जनशक्तिको विकास भयो । विद्यार्थीको संख्या बढ्दै गयो । अहिले हजारको संख्यामा विद्यार्थी उत्पादन भएका छन् ।
२०६४ सालमा संघ स्थापना गर्यौँ र ६० जिल्लामा हाम्रो संगठन फैलिएको छ । ५ हजार जना सदस्य रहेका छन् । पहिला पुरुषहरू थिएनन् अहिले संलग्न छन् । पुरुषहरुले पनि त्यतिकै राम्रो व्यावसाय गरिरहेका छन् । संगठन स्थापना गरिसकेपछि अर्को जिम्मेवारी बढ्यो मेरो लागि । म काठमाडौँमा मात्र काम गरिरहेको थिएँ । जब म जिल्ला हिँडे, त्यहाँ दयनीय अवस्था देखेँ ।
त्यहाँ राम्रो तालिम नभएको, राम्रो इक्युप्मेन्ट नभएको, सबै कुरा सिमित क्षेत्रमा सेन्ट्रलाइज भएको,जिल्लामा अनविज्ञ अनि जेनतेन जसोतसो गर्न कोसिस गरिरहेको देखेपछि हाम्रो संस्थाले तालिम दिनको लागि सुरु गर्याे । ठाउँ ठाउँमा गएर सेमिनार गर्न लाग्यौं ।
जसले जसले गर्न चाहन्छन् तिनीहरूलाई तालिम दियौं र उनीहरूको क्षमता विकास गर्न लाग्यौँ । सानो लगानीमा राम्रो कमाई भएपछि मान्छे आकर्षित हुन लागे ।
संख्या कम बढे पनि गुणस्तर अहिले चुनौति बनेको छ । धेरै रोजगारी पाउँदा म आफैँ खुसी हुन्छु । तर गुणस्तर खस्कँदै जाँदा दुख लाग्छ । किनभने हामीले केमिकल धेरै चलाउनुपर्छ । यो विषयमा हेलचेग्रयाँइ ख्याल ठट्टा गर्न पनि मिल्दैन । त्यसले गर्दा अलिकति गम्भीर हुनुपर्छ । यसको गुणस्तरको मापदण्ड कायमका लागि नीति नियम बनाउनुपर्छ भन्ने लागेको छ ।
सौन्दर्यलाई शिक्षामा लैजान्छु भन्ने सपमना थियो । म यो व्यावसायबाट रिटायर भएँ भने पनि भोलि आउने सन्तानका बिच इतिहास बनोस् र उनीहरूको भविष्य सुनिश्चित होस् ।
अहिले ९ देखि १२ कक्षासम्म पढाउने भयो । ९ र १० कक्षाको किताब तयार गरिसकेँ । पढ्ने विद्यार्थी बढ्दैछन् । आउने पुस्तालाई जनचेतना दिँदै गएँ भने यसलाई स्नातक, स्नाकोत्तर, पीएचडी सौन्र्दयशास्त्रमा गराउने योजना छ । यसको लागि पनि म नेपाल उद्योग बाणिज्य महासंघ लागेको हो । यसको लागि सौन्र्दय संघ लगायत सबैको साथ छ ।
प्रतिक्रिया दिनुहोस्