दूध ढुवानीका साधनमा प्रयोग हुने लोगो सार्वजनिक, एम्बुलेन्स सरह चल्न पाउने


-अनुप आचार्य-

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दूध ढुवानीका लागि प्रयोग हुने लोगो सार्वजनिक गरेको छ ।

बिहीबार भएको पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर घोषणा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले लोगो सार्वजानिक गरेका हुन् ।

लोगो राखेपछि अब दुध बोकेको गाडी निर्वाध रुपमा एम्बुलेन्स सरह गुड्न पाउने छन् ।

दुग्धजन्य पदार्थको ढुवानी सहज बनाउन छुट्टै लोगो बनाएको दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्र यादवले जानकारी दिए । बन्द हडताल तथा प्राकृतिक संकटलगायतका समयमा दूध ढुवानीमा समस्या देखिने गरेकोले लोगो प्रयोगमा ल्याएको यादवको भनाई छ ।

ढुवानीका बेला दूधलाई निश्चित समयभित्र निश्चित तापक्रममा निश्चित ठाउँमा पुराइसक्नुपर्छ तर बन्द हडताल वा बाटो अवरोध हुँदा व्यवसायीहरूले समस्या भोग्दै आएका थिए ।

कार्यकारी निर्देशक यादवले भने,“ दुग्धजन्य पदार्थ ढुवानी गर्दा पटक पटक समस्या देखियो । जसका कारण किसानले दूध उपलब्ध गराउने तर त्यसको पूर्ण रुपमा प्रयोग नहुने र बोटोमै बिग्रने अवस्था भएपछि हामीले नयाँ अवधारणा सुरु गरेका हौं । यो दूध ढुवानीमा गर्न लागिएको विश्वकै नयाँ अवधारणा हो ।”

२०७६ चैत ११ गतेको मन्त्रीपरिषद् बैठकले दूधलाई अत्यावश्यकीय वस्तुको रुपमा राखेको थियो । तर पनि बन्द हडताल वा अन्य समस्याका क्रममा दूध ढुवानीको समस्या देखिएको बोर्डको भनाई छ । सुरक्षा निकायले समेत दूधका गाडीलाई अवरोध गर्ने गरेको देखिएको कार्यकारी निर्देशक यादवको भनाई थियो ।

समस्या यथावत रहेपछि बोर्डले लोगो प्रयोगमा ल्याउने निर्णय गरेको हो । बोर्डले सूचना निकालेर माग गरेपछि प्रतिस्प्रधामा आएका २८ वटा मध्य उत्कृृष्ट लोगो छनौट गरिएको यादवले बताए ।