परियोजना तयार गरेर मात्रै लगानी सम्मेलन गर्नुपर्छ : अध्यक्ष गोल्छा


तयारी नगरी लगानी सम्मेलन लगायतका कार्यक्रम गर्दा अपेक्षाकृत सफल हुन नसकेको अध्यक्ष गोल्छाको तर्क छ ।

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले ठूला परियोजनाहरू तयार गरेर लगानी सम्मेलन गर्नुपर्नेमा जोड दिएका छन् । तयारी गरेर लगानी सम्मेलन गर्दा बढी फलदायी हुने अध्यक्ष गोल्छाको भनाई छ ।

नेपाल उद्योग वाणिज्य महासंघको अन्तराष्ट्रिय लगानी प्रवद्र्धन समिति विस्तार कार्यक्रमलाई महासंघ सचिवालयमा संवोधन गर्दै उनले भने,“अब हामीले “रेडिमेड प्रोजेक्ट” सहित छिमेकी भारत तथा चीनबाट वास्तविक लगानीकर्ता भित्रायाउने गरि काम गर्नुपर्छ,” अध्यक्ष गोल्छाले भने,“देशमा लगानी सम्मेलन त भए तर केही ठूला जलविद्युतमा रहेको प्रत्यक्ष वैदेशिक लगानीलाई छोडेर हेर्ने हो भने अपेक्षित रूपमा विदेशी लगानी आउन सकेको छैन, यो यथार्थ हो ।”

महासंघले भारत, चीन लगायतका बाह्य लगानी आउन सक्ने देशका नेपालस्थित दूतावासहरूसंग पनि यस विषयमा छलफल अगाडि बढाएको बताए । नेपालमा लगानी गरिरहेका बहुराष्ट्रिय कम्पनीहरूले नाफा पनि राम्रो गरेपनि थप बाह्य लगानी भित्रन नसकेको अध्यक्ष गोल्छाको भनाई थियो । उनले भने,“ समस्या कहाँ छ त्यसको निक्र्यौल गर्न सरकार तथा निजी क्षेत्रको एकिकृत प्रयासको खा“चो छ,नेपालमा कुन क्षेत्रमा विदेशी लगानी खुला गर्ने र कुन क्षेत्रमा नगर्ने भन्ने विषयमा पनि निकै धेरै गृहकार्य जरूरी छ ।”

बाह्य लगानी आकर्षणमा रहेका बाधा हटाउनु पर्ने र विदेशी लगानीकर्ताले लैजाने मुनाफाका विषयमा पनि थप स्पष्टता जरुरी रहेको महशुस निजी क्षेत्रले गरेको    छ । अध्यक्ष गोल्छाले भने,“वाह्य लगानी आकर्षणको अर्को महत्वपूर्ण पक्ष भनेको कन्ट्री रेटिङ पनि हो जुन हामी भर्खर त्यसको अभ्यास गर्दैछौं । अर्को एकद्वार प्रणालीको प्रभावकारी उपयोगमा सरकारको प्रतिवद्धता आवश्यक देखिन्छ ।”

महासंघको कार्यकारिणी समितिका सदस्य आनन्दकुमार वगाडियाको सभापतित्वमा अन्तराष्ट्रिय लगानी प्रवद्र्धन समिति विस्तार गरिएको छ । समितिका सदस्यहरूमा शक्तिकुमार वेगानी, गजेन्द्र भगत, दिवाकार राठी, समिर शर्मा, समीक्षा राई, दिलिप अग्रवाल र दिपिका श्रेष्ठ छन् ।