एक तिहाइ नेपाली बैंकिङ पहुँच बाहिर, थप एक तिहाइले चलाउँदैनन् बैंक खाता


काठमाडौं । पछिल्ला वर्षहरूमा बैंक तथा वित्तीय संस्थाको बढ्दो संख्या र प्रतिष्पर्धासँगै वित्तीय पहुँच बढे पनि अझै ३३ प्रतिशत नेपाली बैंकिङ पहुँचबाट बाहिर रहेको र बैंकमा खाता खोल्नेमध्ये पनि करिब ३३ प्रतिशतले नै खाता नचलाइ निष्क्रिय रुपमा राखेको पाइएको छ । यसले आधा नेपाली अझै वित्तीय पहुँचभन्दा बाहिर रहेको संकेत गरेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार नेपालका ६७ प्रतिशत नागरिकको बैंक खाता छ । यद्यपि, बैंकमा खाता खोल्नेमध्ये ३३.३ प्रतिशत खाता निष्क्रिय रहेको पाइएको छ ।

नेपाल राष्ट्र बैंकले तयार पारेको वित्तीय पहुँचसम्बन्धी अध्ययनअनुसार एक वर्षको अवधिमा बैंकमा खाता खोल्ने नेपालीको अनुपात ७ प्रतिशतले बढेको छ । तीन पुस्ते विवरणको आधारमा प्राकृतिक व्यक्तिको एक मात्र निक्षेप खाता गणना गर्दा २०७७ जेठ मसान्तमा ६७.३४ प्रतिशत नागरिकको कम्तीमा एक निक्षेप खाता रहेको देखिएको राष्ट्र बैंकले जनाएको छ । २०७६ असार मसान्तमा कम्तीमा एक निक्षेप खाता भएका नेपालीको संख्या ६०.९ प्रतिशत थियो ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थामा २०७७ जेठ मसान्तमा तीन करोड १८ लाख ८६ हजार निक्षेप खाता खुलेका छन्, यसमध्ये नेपाली व्यत्ति खोलेका निक्षेप खाता दुई करोड ९९ लाख २८ हजार ४३६ छन् ।

अध्ययनअनुसार कुल निक्षेप खातामा प्राकृतिक व्यक्तिको खाताको हिस्सा ९३.४८ प्रतिशत पाइएको छ । प्रतिहजार व्यक्ति ९९८ खाता रहेकोमा पुरुषको प्रतिहजार व्यक्ति १ हजार ३१४ खाता र महिलाको प्रतिहजार व्यक्ति ६८७ खाता छन् ।

प्रदेशगत रूपमा सबैभन्दा बढी बाग्मती प्रदेशमा प्रतिहजार व्यक्ति १ हजार ८०२ र कर्णाली प्रदेशमा सबैभन्दा कम प्रतिहजार व्यक्ति ४५८ खाता छन् भने महानगरमा प्रतिहजार व्यक्ति ३ हजार २९६ र ग्रामीण नगरपालिकामा प्रतिहजार व्यक्ति २५१ खाता रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

एक तिहाइले चलाउँदैनन् बैंक खाता

राष्ट्र बैंकका अनुसार कुल निक्षेप खातामध्ये ६७.७ प्रतिशत खाता सक्रिय रहेका छन्, अर्थात् एक तिहाइ नेपालीले बैंकमा खाता खोले पनि नियमित कारोबार भने गर्दैनन् ।

पुरुषको खाता संख्यामध्ये ६५.२ प्रतिशत र महिलाको खाता संख्यामध्ये ७२.३ प्रतिशत खाता सक्रिय रहेका छन् । ग्रामीण नगरपालिकामा ८१.५ प्रतिशत खाता सक्रिय रहेको पाइएको छ । प्राकृतिक व्यक्तिले खोलेका कुल निक्षेप खाता संख्यामा बचत निक्षेप खाताको हिस्सा ९०.६ प्रतिशत र मुद्दती निक्षेप खाताको हिस्सा ३.१ प्रतिशत रहेको अध्ययनमा उल्लेख छ ।

अध्ययन प्रतिवेदनअनुसार वित्तीय साक्षरता प्रवद्र्धन, शाखा विस्तार, शाखारहित बैंकिङ, भुक्तानी प्रणालीको आधुनिकीकरण गर्नेलगायतका नीतिगत व्यवस्थाले बैंक तथा वित्तीय संस्थाका प्रतिशाखाले सेवा पुर्‍याउने नागरिकको संख्या क्रमशः घट्दै गएको देखिएको छ ।

अध्यययनअनुसार र ‘क’, ‘ख’ र ‘ग’ वर्गका संस्थाको शाखा संख्या २०७८ चैत मसान्तमा ५ हजार ९७८ पुगेको छ । ७५३ स्थानीय तहमध्ये ७५० तहमा वाणिज्य बैंकको शाखा विस्तार भएको छ । निक्षेप खाता संख्या तीन करोड ६३ लाख ६६ हजार र कर्जा खाता संख्या १६ लाख ८२ हजार ८४५ रहेको छ ।

प्रति एकलाख जनसंख्यालाई सेवा पु¥याउने बैंकको शाखा संख्या औसतमा १८.९८ प्रतिशत छ । स धेरै गण्डकी प्रदेशमा ३०.२५ र सबैभन्दा कम प्रदेश नं. २ मा ९.७३ प्रतिशत रहेको छ । ग्रामीण क्षेत्रमा प्रति एक लाख जनसंख्यालाई सेवा पुर्‍याउने बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ८.५४ र महानगरपालिकामा ४५.७६ प्रतिशत रहेको अध्ययनले देखाएको छ ।

प्रविधिको प्रयोगअन्तर्गत प्रतिखाता एटीएम प्रयोगकर्ता २०.३५ प्रतिशत, मोबाइल बैंकिङ प्रयोगकर्ता ३२.०३ प्रतिशत र इन्टरनेट बैंकिङ प्रयोगकर्ता ३.८६ प्रतिशत रहेका छन् । प्रतिखाता एटीएम, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ प्रयोगकर्ता बाग्मती प्रदेशमा सबैभन्दा बढी क्रमशः २६.११, ३३.१२ र ६.४० प्रतिशत रहेको छ ।

प्रतिखाता एटीएम प्रयोगकर्ता गण्डकी प्रदेशमा सबैभन्दा कम १४.५० प्रतिशत, प्रतिखाता मोबाइल बैंकिङ प्रयोगकर्ता प्रदेश नं. २ मा सबैभन्दा कम २७.०१ प्रतिशत र प्रतिखाता इन्टरनेट बैंकिङ प्रयोगकर्ता कर्णाली प्रदेशमा सबैभन्दा कम ०.५२ प्रतिशत रहेको पाइएको छ ।

महानगरमा प्रतिखाता एटीएम प्रयोगकर्ता २७.२८ प्रतिशत र इन्टरनेट बैंकिङ प्रयोगकर्ता ६.४८ प्रतिशत छन् भने गाउँपालिकामा प्रतिखाता एटीएम प्रयोगकर्ता १०.६१ प्रतिशत र इन्टरनेट बैंकिङ प्रयोगकर्ता १.०८ प्रतिशत अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

प्रतिखाता मोबाइल बैंकिङ प्रयोगकर्ता गाउँपालिकामा सबैभन्दा बढी ३३.३६ प्रतिशत रहेको देखिएको छ । उमेरगत हिसाबले २० वर्ष उमेरका व्यक्तिमा प्रविधिको प्रयोग उच्च रहेको र सो उमेरभन्दा माथि प्रविधिको प्रयोग क्रमशः घट्दै गएको देखिएको छ । युवा पुस्तामा प्रविधिको प्रयोग उच्च रहेको हुँदा आगामी दिनमा प्रविधिको माग दिनानुदिन बढ्दै जाने देखिएको राष्ट्र राष्ट्र बैंकले विश्वास व्यक्त गरेको छ ।