मानुषी लघुवित्तको आईपीओ बाँडफाँड


काठमाडौं । मानुषी लघुवित्त वित्तीय संंस्थाको आईपीओ आज बिहान बाँडफाँड भएको छ । आईपीओ गोलाप्रथाबाट ३६ हजार ८५९ जनाले १० कित्ताका दरले शेयर पाउनेछन् भने तिनै आवेदकमध्ये भाग्यमानी ३ जनाले थप ११ कित्ता शेयर पाउनेछन् । २३ लाख १७ हजार ८८९ आवेदकको हात खालि भएको छ ।

धितोपत्र बिक्री प्रबन्धकका अनुसार आईपीओमा कुल २३ लाख ६१ हजार ८२७ आवेदकबाट २ करोड ९६ लाख ५५ हजार ४६० कित्ता सेयर माग भएको थियो । तीमध्ये २३ लाख ५४ हजार ७८४ आवेदकबाट माग भएको २ करोड ९५ लाख ७४ हजार ७५० कित्ता सदर भएको छ भने बाँकी ७ हजार ४३ आवेदकबाट माग भएको ८० हजार ७१० कित्ता शेयर बदर भएको छ ।

कम्पनीले साउन २७ गतेदेखि साउन ३१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्काशन गरेको थियो । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सर्वसाधारणहरूका लागि छुट्याइएको थियो ।