मंगलबार पनि नेप्से राताम्य, काराेबार आधारमा कुमारी बैंक सर्वाधिक अग्रस्थान


काठमाडौं । साताको कारोबारको तेस्रो दिन पनि सेयरबजारले ओरालो यात्रालाई निरन्तरता दिएको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्से ७० अंकले घट्दा सबै उपसमुह राताम्ये बनेका छन् ।

कोरोना संक्रमणको दर घटेसँगै देशभा अर्थतन्त्रका अन्य क्षेत्रहरु चलायमान हुँदा बजार घटेको हुनसक्ने केही लगानीकर्ताको भनाई छ भने केहीले राष्ट बैंकले लगाएको १२ करोडको क्याप र बैंकहरुले असोज १ गतेदेखि बढाएको निक्षेपको व्याजदरको कारण बजार नराम्रोसँग प्रभावित बनेको बताएका छन् ।

अहिले चाडपर्व नजिकिएसँगै खर्चको जोहो गर्न पनि लगानीकर्ताले जतिमा पायो त्यतिमै सेयर बेचेको हुनाले बजारमा करेक्सन आएको सेयर लगानीकर्ता समुहका अध्यक्ष उत्तम अर्याल बताउछन् ।

अर्यालका अनुसार बजार सँधै बढ्ने कुरा पनि हुँदैन तर अहिले राष्ट्र बैंक तथा विभिन्न निकायको गतिविधीले प्रभाव पारेको हो, बैंक तथा वित्तीय संस्थाहरुले पनि धमाधम लाभाशं वितरण गरिरहेका हुनाले चाँडै बजार पुन लयमै आउँछ ।

आज सेयर कारोबार मापक नेप्से परिसूचक ७०.०१ अंकले घटेर २६१५.४० अंकमा झरेको छ । नेप्से २.६१ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक ११.४२ अंकले घटेर ४९४.९१ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कूल १३ उपसमूहमध्ये सबै वटा उपसमूहको सूचक घटेको छ ।

मंगलबार कुमारी बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको १८ करोड ८२ लाख २७ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज पनि मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आज नेपाल हाइड्रो डेभलपर्स कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् ।

कूल २१८ वटा कम्पनीको एक करोड ३० लाख ३४ हजार ८ सय २८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७४ करोड ५४ लाख ८८ हजार एक सय ७९ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।